बुटवल,साउन ७ ।
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संसदबाट पारित नागरिकता विधेयक देशको हितमा नभएको बताउनुभएको छ । नेपाली नागरिक सरह बिहे गरेर आउने वित्तिकै विदेशीलाई नागरिकता दिनु गलत हुने उहाको तर्क छ ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले भन्नुभयो –‘वैवाहिक अंगीकृतलाई कुनै ‘सटेन’ अवधि नराखी तत्काल नागरिकता दिने गरी शुक्रवार संसदबाट रहस्यपूर्ण ढंगले विधेयक पारित भएको भन्दै यसले देशलाई ठूलो अप्ठ्यारोमा पार्छ । ’
ृउहांले अगाडी भन्नुभयो–‘रहस्यपूर्ण ढंगले विधेयक पारित गरिएको र विदेशी नागरिकलाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने पारित भएको विधेयक हाम्रो जस्तो देशका लागि घातक हुन्छ ।’
एमालेले विगतदेखि नै विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर भन्दै आएको उहाको दाबी छ ।
भारत, चीन,बेलायत लगायत सबै देशले ‘सटेन’ समय सीमा राखेको र हामीले भने बिहे गरेर आउने वित्तिकै नागरिकता दिन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित रहेको उहांको तर्क छ ।
पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले आउँदो निर्वाचनमा आफूहरूको उद्देश्य र विचारसँग नजिक हुने राजनीतिक दलसँग तालमेल गरेर जाने बताउनुभयो । तत्कालीन नेकपा नेताहरू भेला भएर वाम गठबन्धनको कुरा गर्नु कांग्रेससँग आउँदो निर्वाचनमा सिट बाँडफाँडको ‘बार्गेनिङ’का लागि मात्र भएको उहाको तर्क छ ।
‘गठबन्धनभित्र अर्को गठबन्धन गर्ने जुन कसरत भइरहेको देखिन्छ । त्यो अरु केही होइन । कांग्रेससँग बार्गेनिङ मात्र हो,’ ज्ञवालीले भन्नुभयो । परमादेशबाट बनेको वर्तमान सरकारले एक वर्षमा देशलाईसंकटतर्फ धकेलेको र ब्यर्थ समय बिताएको उहांको आरोप छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)