Logo बिहिवार, आश्विन १ गते २०८३
images

दायित्व नीति संवाद : नेपालमा युवा रोजगारीको अवसरहरु सिर्जना जरूरी

दायित्व नीति संवाद : नेपालमा युवा रोजगारीको अवसरहरु सिर्जना जरूरी

  • 1.9K
    SHARES

  • दायित्व नीति संवाद : नेपालमा युवा रोजगारीको अवसरहरु सिर्जना जरूरी

    काठमाडाैँ,साउन ६ ।

    दायित्वले युवा रोजगारीको विषयमा ‘इको टल्क्स’ श्रृंखला अन्तर्गतको दोस्रो नीति संवाद सम्पन्न गरेको छ। यस संवादमा सांसद तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं पूर्व उर्जा मन्त्री  गोकर्ण बिष्टलाई नीति अभिभावकका रुपमा प्रस्तुत गरेको हाे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले नेपालको नीतिगत समस्यालाई अब नवप्रवर्तक तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

     “नेपालको विकासको बारे छलफल गर्दा मानव संसाधन र मानव पुँजी सबैभन्दा महत्त्वपूर्ण कुरा हो । दुर्भाग्यवश, सरकारसँग यकिन तथ्यांक छैन तर वैदेशिक रोजगारीको खोजीमा नेपालबाट गएको श्रमशक्तिको औसत अनुमान ६० लाखभन्दा बढी छ । नेपालमा युवा श्रमशक्तिलाई टिकाउने एक मात्र उपाय देशभित्रै दिगो रोजगारीका अवसरहरू सिर्जना गर्नु हो। तर, जबसम्म हामीले व्यापारभन्दा उत्पादनलाई प्राथमिकतामा राख्दैनौँ, तबसम्म यो समस्या समाधान हुँदैन”,  विष्टले भने।

    त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकालले भने-, “विदेश जाने युवा श्रमशक्तिलाई नेपालमा राख्न नसक्नुको मुख्य कारण महंगो जीवनयापन नै हो। हामीले विदेश पलायन भएका युवा जनशक्ति फिर्ता ल्याउन नसक्ने र त्यसको कारण भनेको अन्य देशको तुलनामा नेपालमा दैनिक जीवनयापनको लागत अत्यन्तै बढी रहनु हो। यस समस्यालाई समाधान नगरेसम्म हामीले देशमा युवा श्रमशक्तिलाई टिकाउन सक्दैनौ”।

    “नेपालको आर्थिक अवस्था तिव्र रुपमा खस्किदै गएको बेला युवाहरु भने राम्रो अवसरको खोजीमा विदेशीने क्रम बढ्दो छ । अबको २७ वर्षमा नेपाल एक वृद्ध राष्ट्र हुनेछ यो न्यून रोजगारीको प्रवृत्तिलाई बेलैमा सच्याइएन भने हामीले ठूलो सामाजिक र आर्थिक दलदलको सामना गर्नुपर्नेछ । हाम्रो युवाजनशक्तिलाई देशमै कसरी राख्ने र युवा उद्यमशीलता मार्फत युवा रोजगारीलाई कसरी प्रवर्द्धन गर्ने जस्ता मुख्य नीतिगत मुद्दाहरूलाई हामीले यस विशेष संवाद मार्फत सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ”, दायित्वका संस्थापक तथा अध्यक्ष डा. पुकार मल्लले भने ।

    कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषाल, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष्य एवं सस्तो डिल प्रा.ली.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापा, श्रीनगर एग्रो ग्रुपका निर्देशक  मौसुमी श्रेष्ठ र नीति अनुसन्धान प्रतिष्ठानका, सिनियर रिसर्च फेलो डा. कल्पना खनाल संवादको प्यानलमा थिए । उनीहरुले युवा जनशक्ति परिचालनका चुनौति र नवप्रवर्तक तरिकाहरु पहिचान गर्दै नेपालमा युवा श्रमशक्तिलाई कायम राख्न रोजगारीका अवसरहरू सिर्जना गर्न संसदीय कदम चाल्नको लागि नीतिगत सुझावहरु दिए ।

    उद्यम सम्बन्धि नीतिहरूको योजना र कार्यान्वयनबीचको खाडललाई सम्बोधन गर्ने आवश्यकता; सरकारको उचित नीति र विज्ञताको अभावले स्टार्टअप र नवप्रवर्तनकारी उद्योग जगतले भोग्नुपरेको चुनौतीहरु; रेमिट्यान्समा र व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्र तर्फ लाग्नुपर्ने अत्यावश्यकता; युवा श्रमशक्तिलाई कायम राख्न नेपालमा जीवनयापनको लागत घटाउने महत्त्व र उद्योगको आवश्यकता र हाम्रो शैक्षिक संस्थाले सुसज्जित सीपहरूबीचको अन्तर जस्ता मुख्य मुद्दाहरुबारे प्यानलमा गहन छलफल गरिएको थियो।

    कार्यक्रमले नीति निर्माता, नागरिक समाज संस्था, निजी  क्षेत्रका अगुुवा, पत्रकार लगायत अन्य सान्दर्भिक नीति सरोकारवालाहरु गरी ६० भन्दा बढि व्यक्तिहरुलाई एकसाथ ल्याएको हाे । ‘ईको टल्कस’ श्रृंखलाका सबै  संवादमा नीति क्षेत्रको ३ सरोकारवालाहरु (नीति लाभार्थी, नीति आलोचक, तथा नीति कार्यान्वयनकर्ता) प्यानलिस्ट हुनेछन् भने युवा सांसदहरु नीति प्रवर्द्धकका रुपमा प्रमुख सिकाई तथा सुझावहरुलाई लिएर अघि बढ्ने जनाइएको छ।

    इको टल्क्स श्रृंखलाको दोस्रो नीति संवादले यस जनसांख्यिक विन्डो अवधिभरमा अधिकतम आर्थिक वृद्धिको सम्भावना हासिल गर्नका लागि युवा जनशक्ति परिचालनका नवप्रवर्तक तरिकाहरू खोजी गरी नेपालको आर्थिक वृद्धिलाई गति दिन युवा रोजगारीको प्रभावकारी अवसरहरु सिर्जना गर्न नीतिगत सिफारिसहरूका लागि बलियो आधार निर्माण गरेको छ। यस संवादलाई टेलिभिजन पत्रकार रुपा खड्काले सहजीकरण गरेकी थिइन् ।

    ‘ईको टल्कस’ शृङ्खलाको सुरुवात गत जुन महिनामा भएको थियो र यस अन्तर्गत थप चारवटा यस्तै संवादहरू आयोजना गरिनेछ । पहिलो संवाद महिलाहरुको आर्थिक सबलिकरणको विषयमा आधारित थियो ।

    समयमै उचित कदम चालिएन भने नेपाल अपरिहार्य आर्थिक संकटको साक्षी हुन बाध्य हुनेछ। राष्ट्रिय आर्थिक चुनौतिहरूको समाधानका लागि परिणाममुखी राजनीतिक नेतृत्वसहित असल सार्वजनिक नीति आवश्यक छन् ।

    दायित्वले राष्ट्रको आर्थिक वृद्धिका लागि प्रमाणको आधारमा हुने नीतिगत निर्णयहरूको वकालत गर्ने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ईको टल्कस’ श्रृंखला सुरु गरेको दायित्वकी सलिना भट्टराइले नागरिक अनलाइनलाइ जानकारी दिइन् । नेपालको आर्थिक विकास सम्बन्धी प्रमुख आर्थिक नीतिका मुद्दाहरूमा सरोकारवालाहरूसँग संलग्न हुन सांसदहरुलाई सहयोग गर्नको लागि दायित्व र न्यासनल डेमोक्रेटिक इन्सटिच्युटको सहकार्यमा ‘इको टल्कस’ श्रृंखला सञ्चालन भइरहेको हाे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology