बुटवल,साउन ६ ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४० औं स्मृति दिवस शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवसका अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बुटवलको वीपीचोकमा रहेको शालिकमा माल्यार्पण गरेको छ ।
माल्यार्पणपछि कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति रामकृष्ण खांणले वीपीको सिद्धान्तलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । 
खांणले वीपीपथमा हिड्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिए । तिलाेत्तमा नगरप्रमुख समेत रहेका उनले नेपाली राजनीतिका शिखर पुरुष विपी कोइरालाले देखाएको बाटोमा कांग्रेस हिंड्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
बुटवल नगरसभापति खेलराज पाण्डेयले आदर्श र मूल्यको राजनीति चीरकाल पर्यन्त स्मरणीय रहने उल्लेख गरे । बुटवल नगरप्रमुख समेत रहेका पाण्डेयले वीपीकै आदर्श अवलम्बन गरेर अघि बढ्ने बताए ।
साे अवसरमा जिल्ला,प्रदेश,तथा नगरका कांग्रेस नेता तथा कार्यकर्ताको बाक्लाे उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर सचिव छाँया पाेखरेलले गरेका थिए ।
साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक मानिन्छन् । ४० बर्षअघि आजकै दिन साउन ६ गते वीपी कोइरालाको देहावसान भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)