बुटवल,असार २६ ।
बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-२ की १७ वर्षीया सदीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गएराति ती युवती र एक युवा होटलमा बस्न गएका थिए ।
‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले बिहान ९ बजेतिर बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै होटल संचालकले फोन गर्नु भएको थियो ।’–उनले भने ।
युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छ ।
किशोरी आफैं आएर कोठा बुक गरेको र कोठामा केही प्रमाण नभेटिएकाले फरार भएका युवकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)