बुटवल,असार २४।
फ्रिडम फोरमका अध्यक्ष एवं अग्रज पत्रकार तारानाथ दाहालले कोरोनाको प्रभावका कारण सञ्चार क्षेत्र मारमा परेको बताउनुभएको छ ।
उहांले कोभिड संक्रमण अन्त्य नभएको र चौथो लहर आउन सक्ने जोखिम रहेको समेत औंल्याउनुभएको छ ।
चांदनी नेपालले बुटवलमा सरोकारवालासंग गरेको राउण्ड टेबल अन्तरक्रियामा बोल्दै अग्रज पत्रकार दाहालले कोभिड महामारीमा सरकारले मिडियालाई फ्रन्ट लाइनरको रुपमा मान्यता नदिएर नीजि क्षेत्रका मिडियालाई सहयोग नगरेको बताउनुभयो ।
दाहालले कोभिडका कारण सञ्चारमाध्यमहरु टिक्न र बांच्न चुनौति रहेको र दीर्घकालीन असर पर्ने बताउनुभयो ।
कार्यक्रममा चांदनी नेपालका कार्यकारी निर्देशक भवानी प्रसाद पाण्डेले कोभिड महामारीले सञ्चार क्षेत्रमा परेको असरबारे सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराउन संस्थाले नियमितरुपमा अन्तरक्रिया गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरु पत्रकारहरु भरत केसी,युवराज कडेंल,टिआर शर्मा,कपिल ज्ञवाली,एनबि कडेंल लगायतले बोल्दै कोभिड महामारीले सञ्चार क्षेत्रमा नराम्ररी असर पारेपनि सरकारले सञ्चारमाध्यम र पत्रकारको हकहितमा बेवास्ता गरेको गुनासो गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)