बुटवल,असार १८ ।
अहिले बिहान मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू,भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैबीच सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएपछि मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको छ । मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)