Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

२७ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप आजदेखि,रुपन्देहीमा ११ गतेदेखि

२७ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप आजदेखि,रुपन्देहीमा ११ गतेदेखि

  • 1.6K
    SHARES

  • २७ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप आजदेखि,रुपन्देहीमा ११ गतेदेखि

    बुटवल,असार ९ ।

    देशका २७ जिल्लामा आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ ।

    बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।

    पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ ।

    बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

    रुपन्देहीमा १ लाख ३१ हजार ५ सय ५७ जनालाई फाइजर खोप लगाइने  :

    रुपन्देहीमा असार ११ गतदेखि बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।  यो खोप प्रथम चरणमा जिल्लाका १६ पालिकामध्ये लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा असार ११ गतेदेखि १४ गतेसम्म र दोस्रो चरणमा असार १५ देखि १८ गतेसम्म बाँकी ११ वटा पालिकामा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

    स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान एक स्थानीय तहमा एकै चरणमा सम्पन्न गरिनेछ । यो खोप ५ वर्षदेखि ११ वर्षसम्म बालबालिकाहरुलाई लगाइनेछ ।स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा लक्षित जनसंख्या ५ वर्षदेखि ११ वर्ष उमेरका १ लाख ३१ हजार ५ सय ५७ जनालाई फाइजर खोप लगाइनेछ ।


    शर्माले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको तथ्यांक लिइसकेको र सबैको सहयोगले पूर्ण खोप लगाएर रुपन्देहीलाई नमूना जिल्ला बनाउने बताए । उहाले अन्य नियमित कार्यक्रम बन्द नहुने गरी खोप लगाउने व्यवस्था मिलाइएको बताउनुभयो ।
    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन कार्यनीति अन्तर्गत १२ वर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई पहिलो श्रृंखलाको छुट खोप र १८ वर्ष माथिका नागरिकहरुलाई बुस्टर मात्रा प्रदान गरिनेछ । त्यस्तै ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुको लागि पहिलो श्रृंखलाको दुई मात्रा खोप प्रदान गरिनेछ ।

    यसैबीच कोभिड–१९ विरुद्ध फाइजर खोपसम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी आइतबार भैरहवामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा नमुना एकीकृत विकास परिषद (नमुना) सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानअन्तर्गत सक्रियता प्रभावकारी रहने बताउनुभभयो । देवदह नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण लामिछानेले खोप अभियान सफल बनाउनुपर्ने बताउनुभयो ।

    के हो फाइजर–बायोएनटेक खोप ?

    फाइजर–बायोएनटेक खोप कोभिड–१९ विरुद्धको खोप हो । यो खोप जर्मन बायोटेक्नोलोजी कम्पनी ‘बायोनटेक’ ले अमेरिकन कम्पनी ‘फाइजर’ को सहकार्यमा विकास गरिएको हो ।

    यो खोपको प्रभावकारिता ९१ प्रतिशतसम्म रहेको अध्ययनले देखाएको छ । यो खोप विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि सूचीकृत गरेको छ । यो खोप नेपालमा प्रयोग गर्न औषधी व्यवस्था विभागले अनुमति प्रदान गरेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology