बुटवल,जेठ २२ ।
रुपन्देहीको भैरहवा नजिक रोहिणी खाेलामा यात्रुबाहक बस खस्दा मृतक नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुलेको छैन।
रूपन्देही ओमसतिया गाउँपालिका- ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे।तिलाेत्तमा योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।
बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)