बुटवल,जेठ १५ ।
आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।
थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक(पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित गरिएको छ ।
थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार विमानका चालकले प्रयोग गरेको मोबाइलको नेटवर्क न्याउरीकोटभन्दा माथि रहेको लेक आसपासमा देखिएको छ ।
उक्त क्षेत्रमै मोबाइलको नेटवर्क देखाएको कारण विमान न्याउरीकोटको लेकभन्दा तल पर्ने मानापाथी हिमालको फेदमा रहेको खोँचमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर उक्त क्षेत्रमा पुग्न कठिन भएको कारण त्यहाँ आज पुग्न असम्भवजस्तै रहेको हिराचनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)