सैनामैना,जेठ ७ ।
स्थानीय प्रहरी प्रशासनको ध्यान स्थानीय निर्वाचनको अन्तिम चरणको सुरक्षा व्यवस्थामा केन्द्रित भैरहेको बेला सैनामैनामा भने नदीजन्य पदार्थको चोरी तस्करी बढेको छ ।
शनिवार सालझण्डीको पहिलो खोलामा ढुंगा लोड गर्दै गरेको अवस्थामा लु ३ त ७६४० नम्बरको ट्रयाक्टर नियन्त्रणमा परेपछि यो तथ्य बाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले नदीबाट ढुंगा निकाल्न लागिरहेको अवस्थामा ट्रयाक्टर पक्राउ परेको बताउनु भयो ।
उहाँले पक्राउ गरिएको ट्रयाक्टर आवश्यक कारवाहीका लागि सैनामैना नगरपालिकामा पठाउने बताउनु भयो ।
उता सैनामैना नगरपालिकाका राजस्व शाखा प्रमुख सन्तकुमार चौधरीले पक्राउ गरिएको ट्रयाक्टरलाई जरिवाना तिराउने बताउनु भयो ।
उहाँले खोलाबाट ट्रयाक्टर पक्राउ भएको अवस्थामा २५ हजार र बाहिरबाट पक्राउ भएको भए १५ हजार जरिवानाको व्यवस्था भएकोले सोही अनुसार जरिवाना गर्ने बताउनु भयो ।
रुपन्देहीको सैनामैना क्षेत्रबाट यसैगरी नदीजन्य पदार्थको दोहन, चोरी र तस्करी हुँदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)