तिलोत्तमा,जेठ ४ ।
रुपन्देहीको तिलोत्तमामा हिजो बिहानदेखि रोकिएको मतगणना सुचारु भएको छ । मतगणनामा विवाद सिर्जना भएपछि तिलोत्तमा नगरपालिकामा मतगणना हुँदै गरेका वडा नं २ को सोमबार साझबाट र वडा नं १६ को मंगलबार बिहान देखि गणना रोकिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको बैठकले बुधबार साँझदेखि नै मतगणना सुचारु गर्नेगरी सहमति गरेको हो । सहमति अनुसार गणना हुँदै गरेको वडा नं २ र १६ को पुनः गणना गरिने छ । ती दुई वडाको पुनः गणनाको लागि निर्वाचन आयोगले निर्देशन गरेको थियो । लगत्तै बाँकी वडाको पनि मतगणना गर्ने, मतगणनामा निजामती सेवाका कर्मचारी राख्ने, प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सबै केन्द्रमा निरीक्षण अवलोकन गर्न पाउने छन् ।
सबै मतगणना केन्द्रमा दलले तोकेको १-१ जना मात्रै प्रतिनीधि बस्न पाउने, उम्मेदवारसंग अरु कुनै व्यक्ति जान नपाउने, स्वतन्त्र उम्मेदवारको हकमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले पनि सबै केन्द्रमा निरीक्षण गर्न पाउने, प्रतिनीधि राख्न चाहेमा एक जना एउटा केन्द्रमा मात्रै राख्न पाउने, उम्मेदवार बस्न चाहेमा प्रतिनीधि राख्न नपाउने सहमति भएको छ । मादक पदार्थ सेवन गरेका कोहीपनि मुलगेटबाट भित्र पस्न नपाउने, मतगणना स्थलमा मोवाईलको प्रयोग गर्न नपाउने सहमति भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं २ को मत गणनामा खटिएका कर्मचारीले बदमासी गरेर एमालेका उम्मेदवारलाइ धेरै मत र कांग्रेसका उम्मेदवारलाइ कम मत अभिलेख गराएपछि बिबाद भएको थियो ।
त्यस्तै वडा नं १६ को गणनाको क्रममा गणना भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसको १४१ हुनुपर्नेमा ११४ र नेकपा एमालेको २५९ हुनुपर्नेमा २९५ भएपछि तिलोत्तमाको मतगणनामा थप विवाद भएको हो । जसका कारण मंगलबार बिहानदेखि मतगणना पूर्ण रुपमा स्थगित भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)