बुटवल,बैसाख २७ ।
बुटवल उपमहानरपालिकाको प्रमुख पदको लागि नेकपा एमालेबाट बाबुराम भट्टराई उम्मेदवार छन् । स्याङ्जामा जन्मिएका उनको कम्युनिष्ट वातावरणमा हुर्किएका उनी २०३७ सालदेखि केहीसमय पार्टीको पूर्णकालीन कार्यकर्ता थिए ।
०६१ सालमा भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष तथा औषधि व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष पनि भइसकेका छन् । राजनीतिभन्दा बढी व्यवसायमा सक्रिय उनले ३ जना आकांक्षीलाई पछि पार्दै चुनावको टिकट पाएका हुन् । प्र्रस्तुत छ, एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य रहेका भट्टराईसँग नागरिक अनलाइनले गरेको कुराकानी ।
घरदैलोमा जाँदा जनताले के भनिरहेका छन् ?
बुटवलका जनताका मन जित्ने खालका योजनाहरु मसँग रहेका छन् । बुटवललाई एउटा सुन्दर र सुविधायुक्त बुटवल बनाउने योजनाहरू मसँग रहेका छन् । मेरो स्वभाव सरल रहेकोले पनि जनताले मलाई मन पराउनुहुनेछ भन्नेमा म ढुक्क छु । म जस्तो अवस्थामा बुटवल उपमहानगरको प्रमुखको रुपमा प्रवेश गर्नेछु त्यही रुपमा नै बाहिरिने छु । मैले पैसा कमाउनको लागि आफ्नो व्यवसाय छदैछ, मलाई यहाँबाट लगेर केही गर्नुपर्ने छैन् । मलाई केही कुराको लोभलाभ छैन । यी कुुराहरु जनतामाझ राखिरहेको छु । जनताले राम्रो प्रतिक्रिया दिनुभएको छ ।
तपाइँलाई भोट किन दिने ?
बुटवललाई समृद्ध बनाउनका लागि मलाई भोट दिनुपर्छ । भूमिहीनलाई लालपुर्जा, मजदुर र सडकमानव व्यवस्थापन, स्याटेलाइट नगर, सहज स्वास्थ्य सेवा, सडक र यातायात संगै खानेपानीको समस्या समाधान नै मेरो मुख्य योजना हो । मैले मेरा योजनाहरु र प्रतिबद्धताको बारेमा दैनिक रुपमा घरदैलोमा पुगेर सुनाएको छु । खासगरी बुटवलमा सडकमानवमुक्तको व्यवस्थापनलाई ध्यान दिने छु । यसमा केही बालबालीकाहरु सडकमा देखिएको कुरा छ । यस्तै मोतीपुर औद्योगिक क्षेत्रमा र सार्वजनिक जमिनमा अव्यवस्थित बसोबास हुनसक्ने सम्भावना रहेको छ । हामीले यसको व्यवस्थापनका लागि औद्योगिक भित्र नै बहुतले संरचनाहरू निर्माण गर्नका लागि पहल गर्नेछौँ । मजदुरको आवासको व्यवस्था भए मोतिपुर क्षेत्रमा सम्भावित अव्यवस्थित बसोबासको समस्यालाई रोक्न सकिन्छ । यसैगरी बुटवलका सडकमा गाईवस्तुको व्यवस्थापन निकै गम्भीर चुनौती बन्दै गइरहेको छ । उसको व्यवस्थापनका लागि पनि ठोस योजना ल्याउने छु । हामी निर्वाचित भएको केही समयमा नै सडकमा गाईवस्तु नदेखिने गरी काम गर्नेछौँ । मोतीपुर सेमलार क्षेत्रलाई स्याटेलाइट नगरका लागि अध्ययन भइरहेको छ ।
बुटवलको मुख्य सडकमा भइरहेको समस्यालाई व्यवस्थापन गर्नेछु । बुटवलको मुख्य सडक बनाउन केन्द्रलाई नै दबाब दिनेछु । बुटवलको सडक समस्यालाई हामीले नकार्न मिल्दैन । तर, समस्या के भने सडकको काम संघीय बजेट अनुसार भएको हो । एमालेको सरकार भरहेको भए यसको धेरै काम सकिन्थ्यो भन्ने मलाई लाग्छ ।
शुरूमा अदालतले स्टे अर्डर दिएका कारण काम भइरहेको थिएन । अदालतले बाटो खोलिदिएपछि सडक क्लियर गर्न समय लाग्यो । त्यसपछि ठेकेदारलाई समात्नुप¥यो । यसका लागि हामीले पनि दबाब दिएका थियौँ । ठेकेदार भने भागेको भाग्यै गर्दा काम अगाडि बढ्न सकेको थिएन । यही दुव्र्यवस्थालाई देखाएर अहिले विपक्षी पार्टीहरूले भोट पनि मागिरहेका छन् ।
यदि संघीय सरकारले काम गरेन भने उपमहानगरपालिकाले नै संघीय सरकारसँग अधिकार मागेरै भए पनि बेरूजु नआउने स्थितिमा निर्माण गरेर काम गर्नेछौँ । सडकका लागि तीन तहकै सरकारबीच समन्वय गर्नुपर्ने जरूरी छ । तर, अहिले जस्तो धूलो उड्न भने दिने छैनौँ । अल्पकालीन समाधान निकाल्दै सडक निर्माणलाई पूर्णता दिनका लागि हामीले योजना बनाउँछौँ ।
बुटवलको खानेपानी समस्यालाई सम्बोधन गर्ने विकल्प भनेको झुम्सा खानेपानी हो । यो आयोजना निर्माणका लागि दबाब दिने काम हामीले गर्छौं । बजेट छुट्टिईसकेको र टेन्डरमा गइसकेकाले निर्माण कार्य अगाडि बढ्छ भन्ने विश्वास पनि छ । ज्योतिनगरमा गएको पहिरोको व्यवस्थापनको काम पनि हामीले गर्नेछौँ । यो क्षेत्र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पर्छ । हाम्रो कार्यक्षेत्र भित्र पर्दैन । तर, पनि प्राविधिक रूपमा बस्ती जोगाउने काम भने हामीले गर्न सकिन्छ । यसमा अध्ययन गर्नेछौँ ।
तपाईँले अहिले बताएका योजनाहरुमध्ये सबैजसो योजना यसअघिको चुनाबी घोषणापत्रमा थिए, त्यतिबेला पूरा भएनन् । अव्यवस्थीत बसोबास र सुकुम्बासीका नाममा भोट मागेर चुनाब जित्ने अनि जितेपछि फर्किएर हेरेनन् भन्छन् नि जनता ?
सबै काम एकैपटकमा हुँदैनन् । यसको लागि समय लाग्छ । सबै कुराहरु मिलाउँदै जाने हो । मैले जितेपछिको कार्यकालमा अवश्यपनि यो भएरै छाड्छ । सुकुम्बासीकै नाममा भोट मागेको होईन । हामीले सुकुम्बासी र अव्यवस्थित रुपमा बसिरहेका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर उहाँहरुका समस्या समाधान गर्ने हो । हामीले यो गर्दा उहाँहरुको जीवनशैलीमा सुधार हुने कुरा त राम्रो हो त । बुटवलको ठूलो समस्या भनेकै भूमिको समस्या हो, जसलाई हामीले सम्बोधन गर्नैपर्छ । भूमि नापीको काम भइसकेको छ । आयोगले लालपूर्जा दिने स्थिति आइपुगेको थियो, तर आयोग नै ढल्यो । मैले जितेपछि गर्ने सबैभन्दा पहिलो काम भनेकै भूमीहिनहरुको लागि निस्सा वितरण गर्ने हो । यो मेरो प्रतिबद्धता पनि छ र मैले जितेपछि यो गर्छु पनि । अहिलेको स्थितिमा हामीले भूमिहीनहरूलाई तपाईंको भूमि अधिकार यो हो र यहाँसम्म तपाईंले भोग गर्न पाउनुहुन्छ भनेर तोकिदिन सक्छौँ । अहिले निस्सा लिएर बसिरहेका भूमिहीनहरूलाई लालपूर्जा दिने हाम्रो पहिलो प्राथमिकता हुनेछ ।
यसअघि एमालेले बुटवलबाट कुनैपनि अवस्थामा प्रदेशको राजधानी सार्न दिदैनौं भन्ने एजेण्डा स्थानीय तहको चुनाबमा ल्याएको थियो । तर राजधानी सार्न एमालेले नै अगुवाई ग¥यो, यसपटक चुनाबमा राजधानी सारेको विषय पनि उठिरहेको छ, के भन्नुहुन्छ ?
राजधानी यहाँबाट गयो, यो सत्य कुरा हो । यसमा हामीले झुट बोल्नुपर्ने कुरा केही छैन । भएको के हो भन्दा, कम्युनिष्ट पार्टी भनेका अनुशासित पार्टी हुन् । त्यतिबेला केन्द्रीय समितिले निर्णय ग¥यो–दाङ सार्ने, प्रदेशका सांसदज्युहरुले ह्विप उल्लंघन गर्न सक्नुभएन । त्यसअघि दाङबाट चुनाव जितेका सांसदज्यूहरुले राजधानी दाङ बनाउने नारा लगाउनु भयो, रुपन्देहीकाले रुपन्देहीमा र कपिलवस्तुकाले कपिलवस्तुमा बनाउँछौं भन्नुभएको थियो । सबैले दाबी गरेपनि केन्द्रको निर्णय मानियो । यो कुरामा त हामीले जनतासँग माफी माग्नुपर्ने हुन्छ । राजधानी जाँदैमा एमालेलाई बुटवलबाट हराउँछन् की भन्ने सोच्नु गलत हो । हामीले बुटवललाई प्रदेश राजधानी बनाउन नसकेपनि आर्थिक राजधानी बनाउने छौँ ।
अन्त्यमा, मतदाताहरुलाई के भन्नुहुन्छ ?
मलाई चुनाब जिताउनुहोस् । मैले गरेका प्रतिबद्धताहरु पूरा गर्ने छु । यसअघि हामीले जे भनेका थियौं ती अधिकांश काम पूरा भएका छन् । केही काम क्रमिक रुपमा पूरा हुने चरणमा छन् । हामीबाट उपमहानगर सञ्चालनका क्रममा केही कमीकमजोरी भए होलान्, त्यसलाई सुधार गर्दै म नयाँ योजनाका साथ अघि बढ्न चाहन्छु ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)