बुटवल,वैशाख २४ ।
रुपन्देहीको बुटवलमा आज पाँचदलीय गठबन्धनले बृहत आमसभा गर्दैछ । बिहान ११ बजेदेखि बुटवलको देवीनगर चौपारी नजिक (बाणिज्य क्याम्पस खेल मैदान)मा हुने चुनावी आमसभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरु सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण,नेकपा एकिकृत समाजबादीकी सचिब रामकुमारी झांक्री, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन कार्यक्रम तय भएको कांग्रेस बुटवलल नगर उपसभापति ज्योति भण्डारीले जानकारी दिनुभयो ।
सभामा पार्टीका नेता तथा कार्यकता, भातृ तथा शुभेच्छुक संघसंस्था र आम समुदायलाई सहभागिताको लागि अपिल गरिएको र यो कार्यक्रममा एक लाख बढीको सहभागिता हुने अपेक्षा गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले बताउनुभयो ।
स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकठांउमा छन् । बुटवलमा कांग्रेसबाट मेयरमा खेलराज पाण्डेय र उपमेयरमा नेकपा एसका चीनबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ ।
एक ठाउँमा उभिएपछि अहिले कार्यकर्तामा उत्साह छाएको छ । चुनावी एकतासहित र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)