बुटवल,बैशाख २० ।
प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समाजले आज बुटवलमा प्रदर्शन गरेको हो ।
विश्वभर मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । यो बर्ष प्रविधि नियन्त्रित मिडिया भन्ने नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा प्रदर्शन गरेको छ ।
प्रदर्शनपछि कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र र मानव अधिकारसंग अभिन्नरुपले जोडिएको बताउनुभयो । संविधान सभा सदस्य एवं दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकहरुको पनि सवाल भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले प्रेस स्वतन्त्रता दिवस लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको मेरूदण्ड भएको बताउनुभयो । उहाँले अहिले पनि नेपाली प्रेस राज्य र समाजका विभिन्न अंगबाट असुरक्षित रहेको बताउनुभयो ।
जिल्ला सभापति डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रिय सचिव मिना ढकालले गर्नुभएको थियो ।
प्रेस स्वतन्त्रता दिवस नेपाल पत्रकार महासंघले पनिदेशका विभिन्न ठाउँमा कार्यक्रम गरि मनाएको छ। नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक अनुसार यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएका छन् ।
त्यस्तै प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु भएको देखिन्छ । प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको महासंघले जनाएको छ । बागमतिमा ५४ वटा त्यस्ता घटनाहरु भएका छन्, । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)