बुटवल,बैसाख १८ ।
रुपन्देहीको देवदह नगरपालिका ६ भलुहीबाट अवैध हातहतियार सहित ४ जना पक्राउ परेका छन् ।
भलुही स्थित उजेरी पाल्पाली सामुदायीक बन भित्र बन्दुक सहित मानिसहरु हिँडेको सुचनाका आधारमा देवदह ६ सताकखोलाका गणेश लामा, कृष्णबहादुर कामु, सुनबहादुर आले र चेतबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेकाहरुबाट ७ नाल भरुवा बन्दुक, १२९ राउण्ड छर्रा (गोली), ३२७ ग्राम बारुद, ७५ थान केप र २ थान फलामको चक्कु बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।
निर्वाचनको मिति नजिकिएका बेला भरूवा बन्दुक फेला पर्नु सुरक्षा चुनौती थपिएको अनुभुति भएको स्थानीयको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)