तिलोत्तमा,बैसाख १८ ।
राष्ट्रिय जनमुक्ति पार्टीले तिलोत्तमा नगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलापुरमा पत्रकार सम्मेलन गरी पार्टीले ‘सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार’ नारासहित विभिन्न ९ क्षेत्र समेटेर ६२ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो ।
बुटवलमा एमालेसँग तालमेल गरेको जनमुक्ति पार्टी तिलोत्तमामा भने मेयरमा सुन्दर गुरुङ र उपमेयरमा गीता सारुको नेतृत्वमा १७ वटै वडामा अध्यक्षसहित उम्मेदवारी दिएर एक्लै चुनाव लड्दै छ ।
नगरमा पुर्वाधार निर्माण गर्नुअघि एकीकृत विकास योजना बनाउने, सामूहिक कृषि प्रणालीलाई प्राथमिकता दिंदै नगरपालिकाको लगानीमा मेगा एग्रो फार्म सञ्चालन गर्ने, नगर अस्पताल सञ्चालन गरी विपन्न, महिला, बालबालिका, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार, खानेपानी र विद्युत महशुल निशुल्क गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
यस्तै नगर खेलकुद एकेडेमी सञ्चालन गरी खेल क्षेत्रका प्रतिभालाई प्रोत्साहन भत्ता दिने, हरेक वडामा एउटा पार्क र पुस्तकालय स्थापना, ट्रली बस सञ्चालन र नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको मेयरका उम्मेदवार सुन्दर गुरुङले बताए ।
उपमेयरकी उम्मेदवार गिता सारुले स्थानीय तहमा उपलब्ध रोजगारी र अवसरहरूमा महिलाहरूका लागि ५० प्रतिशत कोटा सुनिश्चित गर्ने तथा उत्पिडित, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई मासिक प्रोत्साहन भत्ता दिने, बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने बताइन् ।
पार्टीबाट वडा नं १ को अध्यक्षमा जीवन बुढाथोकी मगर, २ मा भिम बहादुर राना मगर, ३ मा केशरी तरामु गाहा मगर, ४ मा मधु थापा मगर, ५ मा कमल गलामी मगर र ६ मा राधिका श्रीस मगरले उम्मेदवारी दिएका छन् ।
यस्तै वडा नं ७ मा गिरिप्रसाद राना मगर, ८ मा प्रेमबहादुर बिरकट्टा मगर, ९ मा आश बहादुर गुरुङ्ग, १० मा महादेव थारु, ११ मा प्रेम ब कनौजे मगर,१४ मा भोम बहादुर बुढा मगर, १५ मा युद्ध फगामी मगर, १६ मा दिलमाया गुरुङ्ग र वडा नं १७ मा फुलमाया चौधरी उम्मेदवार छन् ।
पार्टीका तिलोत्तमा नगर बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बलालको सभापतित्वमा सम्पन्न कार्यक्रम पार्टीका रुपन्देही इन्चार्ज चित्रप्रसाद गुरुङको सञ्चालनमा सम्पन्न भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)