बुटवल,वैशाख ७ ।
सत्तारूढ पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले सो सहमति गरेको हो ।
स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकाहरुको प्रमुख र उपप्रमुख पदमा सहमतिमा उम्मेदवारी दिने सहमति भएको छ ।
६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा एकीकृत समाजवादी ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।
उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एकरएकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।
मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।
पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा सो कुरा उल्लेख छ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)