बुटवल,बैसाख ७ ।
नेपाली कांग्रेस बुटवल नगर समितिले मेयर पदमा नगर सभापति खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेकोप्रति कांग्रेसभित्रै असन्तुष्टी पैदा भएको छ ।
कांग्रेसको नगर समितिले मेयरमा पाण्डेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरे लगत्तै साे सिफारिसको विरोधमा कांग्रेसका १३ जना नेताले हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै सिफारिस वदर गर्न लुम्बिनी प्रदेश समिति समक्ष माग गरेका हुन् ।
मेयरमा आकांक्षीहरुको नाम सिफारिस नगरिएको उनीहरुको भनाइ छ । विज्ञप्तिमा मेयरका आकांक्षीहरु क्षेत्रीय सभापति हरि लम्साल, प्रदेशसभा ख का सभापति खड्कबहादुर महत,महेशमान सिंह, जनक कोइराला, प्रकाश राना,चोपनारायण श्रेष्ठ, रवीन्द्र श्रेष्ठ,गोपालप्रसाद पाण्डे, नेत्र भट्टराई, गोकर्ण बन्जाडे, रामेश्वर श्रेष्ठ, मुक्ति अधिकारी र जोगबहादुर खत्रीको हस्ताक्षर रहेको छ ।
साे विज्ञप्तिमा नाम भएको तर हस्ताक्षर नभएकाहरुमा प्रदेशसभा क का सभापति पर्शुराम ढकाल,चुन्नुप्रसाद पाैडेल,नरिश्वर पाैडेल,जितबहादुर मल्ल रहेका छन् ।
मेयरका अन्य आकांक्षीलाई खबर नै नगरी एकलौटी रुपमा गरिएको सिफारिस खारेज गर्न र सबैलाई एक ठाउँमा राखेर व्यापक छलफल गरी उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन ज्ञापनपत्रमा माग गरिएको छ । यस्तै एकलौटी निर्णय गर्नेमाथि स्पष्टीकरण लिई कारवाही गर्न पनि माग गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)