बुटवल ,चैत ३० ।
राष्ट्रिय जनमोर्चाले बुटवलमा घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले आज बुटवलमा पत्रकार सम्मेलन गरी आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा संघियता खारेजीको मागसहितको घोषणापत्र सार्वजनिक गरेको हो।
गणतन्त्र र राष्ट्रिययताको रक्षा गरौं, संघीयता खारेज गरौं भन्ने मूल नारासहित २८ बुँदे प्रतिबद्वता पार्टीले गरेको छ। राजमोले गणतन्त्रका सन्दर्भमा एमालेको नेतृत्वमा फासीवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको आरोप लगाएको छ।
‘राजावादी तथा फासीवादी यी दुईटा गणतन्त्रका विरुद्ध एक हुन सक्ने सम्भावना पनि देखिएको छ। उपरोक्त सबै परिस्थितिमाथि ध्यान दिँदा समाज तथा मुलुक प्रतिगमन या अधिनायकवादतर्फ जाने खतरा रहेको छ।
एमसीसीलाई संसदबाट पारित गरिएका कारण हाम्रो पार्टी पाँचदलीय गठबन्धनबाट परेपनि स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको छ,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ।
एमाले अध्यक्ष केपी ओलीलीले असवैधानिक रूपमा संसद् विघटन गरेकाले प्रतिगमनका विरूद्व गठबन्धन बनेको अध्यक्ष चित्रबहादुर केसीले बताए। उनले भने, ‘संविधानको रक्षाकै लागि गठबन्धन गरिको हो, गठबन्धनमा सामेल हुँदैमा सबै विषय हामीले स्वीकार गरेका छैनौं।’ उनले संघीयताका सवालमा आफूहरुको फरक मत रहेको बताए। उनले प्रतिगमनको खतरा नटरेकाले कार्यगत एकता गरेको स्पष्ट पारे।
जनमोर्चाले स्थानीय तहको निर्वाचनमा २८ प्रकारका विकासका कामहरुलाई प्राथमिकतामा राख्ने उल्लेख गरेको छ। घोषणापत्रमा विकेन्द्रीयता र सन्तुलित विकास नीतिमा जोड दिने, स्थानीय तहमा बढ्दो बेरूजु न्युनिकरण गर्दै स्वशासनमा जोड दिइने उल्लेख छ। एकीकृत बस्ती विकास, भूउपयोग नीति, गाउँ विकासका लागि ग्रामिण विकास मन्त्रालय गठन, छाडा चौपाया नियन्त्रण गर्ने घोषणापत्रमा उल्लेख छ। त्यस्तै जनमोर्चाले विपत व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार तथा साधान स्रोत सम्पन्न बनाइने बताएको छ।
भ्रष्टाचारको रोकथाम, कृषि र कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गरिने जनाइएको छ। त्यस्तै स्वदेशी उत्पादनलाई संरक्षण गर्ने, विदेशी आयातमाथि नियन्त्रण, शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच पुर्याउन सामाजिक विकास क्षेत्रतर्फ अधिकतम बजेट विनियोजन गर्ने, प्राकृतिक श्रोत साधनको समुचित उपयोगमा ध्यान दिइने अध्यक्ष केसीले बताए ।
दक्ष जनशक्ति निर्माण र बेरोजगारीको अन्त्यका लागि योजना तर्जुमा गर्ने, यातायात र ढुवानीका लागि रेल तथा सडक सञ्जालको निर्माण र विकासमा जोड दिइने, ग्रामीण उद्योगधन्दाको स्थापना गर्ने प्रतिबद्धता पार्टीले गरेको महासचिव मनोज भट्टले जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)