बुटवल, चैत २५ ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले मूलूक र जनताको जीतका लागि गठबन्धन गर्नुपरेको बताएका छन । उनले सर्वहारा श्रमजिवि वर्गको बलमा सत्तामा पुगेको कम्यूनिष्ट पार्टीलाई केपि ओलीले दुरुपयोग गरेर संविधानमाथि प्रहार गरेकाले विद्रोह गर्नुपरेको बताए ।
बुटवल उपमहानगरपालिका वडा न. ११ को निर्वाचन प्रचार प्रसार कार्यालयको शुक्रबार उद्घाटन गर्दै नेता गुरुङले लोकतान्त्रिक गणतन्त्र जोगाउन गठबन्धन गर्नुपरेको बताएका हुन । उनले मूलूकको संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि एकजुट भएर निर्वाचनमा गठबन्धनलाई जिताउनुपर्ने बताए ।
उनले एमालेले जित्दा लोकतन्त्र र संविधान धरापमा पर्ने आरोप लगाए । पार्टीका जिल्ला अध्यक्ष समेत रहेका गुरुङले बुटवलको विकासमा एमालेले घोषणापत्र अनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले बुटवलमा फोहोर व्यवस्थापनको दिगो समाधान र बुटवलबासीलाई खानेपानी दिने चुनावी प्रतिबद्धता पूरा गर्न नगरप्रमुख शिवराज सुवेदी असफल भएको बताए ।‘बुटवलमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने भनिएको थियो, आज बुटवल ११ का जनतालाई प्रत्यक्ष असर पार्ने गरि तिनाउ नदी छेउमा फोहोर फालिएको छ’ उनले भने –‘अब फोहोर थुपार्ने पार्टीका नेता ११ न. वडाका जनताले भोट दिनेछैनन । ’ उद्घाटन समारोहमा नेकपा एकिकृत समाजवादी रुपन्देहीका सहइन्चार्ज सिद्धिचरण भट्टराईले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टीको मेयरले जनताको समस्या हल गर्न नसकेको बताए ।
व्यक्तिवादी प्रवृत्ति र कम्यूनिष्ट आचरणबाट च्यूत भएकाले ओली नेतृत्वको पार्टीबाट विद्रोह गरेर समाजवादीको नयाँ यात्रामा आफूहरु समाहित हुनुपरेको उनले बताए । उनले समाजवादी कार्यक्रम सहित आफूहरु स्थानीय तहको निर्वाचनमा होमिएको बताउँदै कार्यकर्तालाई पनि त्यसै अनुसार तयारीमा जुट्न अपिल गरे । कार्यक्रममा समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी, रुपन्देहीका उपसचिव सरिता श्रीसले गठबन्धन मूलूकको आवश्यकताले भएको बताए ।
बुटवल देविनगरमा वडा न. ११ को निर्वाचन प्रचार प्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटनमा बुटवल नगर अध्यक्ष चिनबहादुर गुरुङ, बुटवल वडा न. ११ का इन्चार्ज भिमबहादुर क्षेत्री, समाजवादीका नेताहरु यमबहादुर पछाई, विष्णु गौतम, राजेन्द्र पाण्डे लगायतले बोलेका थिए । उक्त अवसरमा बुटवल वडा न. ११ का वडाअध्यक्ष इन्द्रबहादुर राईको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको घोषणा गरिएको छ ।
त्यसैगरि राजेन्द्र पाण्डेको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन निर्देशक समिति, लोकराज शर्माको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन, माधव पन्थको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ । समाजवादीसँगै रुपन्देहीका १६ वटै स्थानीय तहमा राजनीतिक दलहरुले चुनावी प्रचार तीव्र पारेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)