बुटवल,चैत्र १९ ।
दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै काठमाडाैँमा प्रदर्शन भएको छ । पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रवार माइतिघर मण्डलामा प्रदर्शन गरेको हाे ।
दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने सजायँ सुनाएसँगै उनी जेलमा छन् ।
उनलाई जेल पुर्याउनका लागि युएईस्थित नेपाली दुतावास नै लागि परेको आफन्तहरुले आरोप लगाएका छन् ।
युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको भन्दै उनको बिना सर्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनका अगुवा जीवन भण्डारीले नागरिक अनलाइलाई बताए ।
प्रदर्शनमा वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहास, पराइ भुमिमाः आफ्नैबाट नागरिक असुरक्षित, परराष्ट्रको मौनताः राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)