बुटवल,चैत्र २ ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणमा चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् ।
उनले भनिन, “जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाईसराई एकदमै डरलाग्दो छ ।” लुम्बनी प्रदेशको तिलाेत्तमामा राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनसम्बन्धी शहरी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाडबाट तराईतिर साना शहरबाट ठूला शहरतिर बसाइँसराईको क्रम बढ्नु चुनौती रहेको बताइन् ।
बसाइसराई कम गर्न पनि शहरी नीति आवश्यक रहेकोमा जोड दिदै उनले यसको लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन् ।
सरकारका संयन्त्रले एक्लाएक्लै काम गर्छौं भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै मन्त्री झाँक्रीले मन्त्रालयहरू नै एक अर्काका विरोधी जस्ता देखिएकाले यस्तो खालको चिन्तन बदल्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको शहरी नीति ल्याउनुपर्ने बताए ।उनले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले सुझावअनुसार शहरी नीति परिमार्जनका लागि सबै सरोकारवालाको राय महत्वपूर्ण रहेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)