बुटवल, फागुन २८ ।
बुटवल ११ देविनगर स्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई सहज रुपमा खानेपानी सेवा उपलब्ध गराउने योजना अघि सारेको छ ।
शनिबार बुटवलमा सम्पन्न भएको १० औं साधारणसभाले धारा जोडेका सदस्यका परिवारलाई पानीजन्य रोग लागेमा संस्थाको तर्फबाट ५ हजार उपचार वापत सहयोग गर्ने, अति विपन्न परिवारलाई निशुल्क धारा जडान, किस्ताबन्दीमा धारा जडान गर्ने जस्ता योजनालाई पारित गरेको हो ।
उक्त अवसरमा बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले उपभोक्ताहरु आफै सक्रिय भएर खानेपानी व्यवस्थापन भएपनि बुटवलमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागि उपमहानथरले योजना अघि सारेको बताए ।
उनले भूमिगत जलश्रोतबाट अल्पकालीन रुपमा खानेपानी समस्या समाधान भएकाले झुम्सा खानेपानी आयोजना पूरा गरेपछि अब आउने ५० बर्षलाई बुटवलमा खानेपानी समस्या हल हुने बताए । उक्त अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै देवसिद्ध खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठकले खानेपानी संस्थानका उपभोक्ताका लागि लाभ हुने कार्यक्रम ल्याएको बताए । उनले उपभोक्तालाई धारा जडान वापत लिएको १५ हजारमध्ये १० हजार फिर्ता गरिसकेको बताए ।
कार्यक्रममा बुटवल वडा न। ११ वडाअध्यक्ष रामचन्द्र क्षेत्री, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटी रुपन्देहीका कार्यालय प्रमुख गुणनिधि पोखरेल, खानेपानी तथा उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धुव्र धिताल, संस्थाका सल्लाहकार सुरज भट्टराई, टोल विकास संस्थाका तर्फ बेदप्रसाद पौडेल, उपभोक्ता संस्थाका प्रतिनिधि महिलाबाट दुर्गा थापा मगर, पुरुष प्रतिनिधि कृष्णप्रसाद पौख्रेलले शूभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधरणसभामा अध्यक्ष भरत पाठक, लेखा समिति संयोजक हिमलाल न्यौपानेको लेखा प्रतिवेदन, सचिव लोकनाथ शर्मा र कोषाध्यक्ष डम्बर बहादुर थापाको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष पाठकको अध्यक्षता, उपाध्यक्ष लाल बहादुर थापाको स्वागत एंव सचिव लोकराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । साधरणसभामा संस्थाका लेखापाल पुनम खाम्चा मगरलाई सम्मान गरिएको छ । त्यसैगरि सरसफाई क्षेत्रमा काम गरेका ज्ञान बहादुर पुन, विष्णु प्रसाद श्रेष्ठ, सिता थापा र राम बहादुर आलेलाई सम्मान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)