बुटवल, फागुन २३।
महिमा ज्योति चर्च बुटवल–११ देवीनगरले ११२ औं अन्तराष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम गरेको छ । महिमा ज्योति मण्डली दिदी बहिनी संगतिकी अध्यक्ष कमलादेवी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
महिलाप्रतिको भेदभाव बन्द गरौं, नेतृत्व लिनका लागि समान अवसर दिऔं भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बोल्दै आचार्यले नारी दिवस विश्वभरका श्रमिक महिलाहरुले आन्दोलनबाट प्राप्त गरेको अधिकारको महत्वपूर्ण दिन रहेको बताईन् । उनले नेपाली महिलाहरुले पञ्चायती, जहानिया राणा शासन र विभिन्न आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै महिलाहरुले पुरुषसरह अधिकार प्राप्त गर्नुपर्ने बताईन् ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले २१ औं शताब्दीमा आईपुग्दा पनि महिला र पुरुषमा असमानता कायम रहेको बताउदैं महिला समानताले नै दिगा विकास हुने बताए ।
त्यस्तैगरी महिला अधिकारकर्मी तथा समाजसेवी सावित्रा अर्यालले लैगिक विभेदका कारण ८ मार्च मनाउनु परेको बताईन् । उनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिलाहरुको सहभागिता रहेको बताउदै पुरुषसरह महिला अधिकारका लागि सहभागिता पनि बढाउनु पर्ने बताईन् । कार्यक्रममा वमेन केयर नेपालकी केन्द्रीय अध्यक्ष रिता केसीले महिला समानताका कुरा व्यवहारमा लागु गर्न नसकेको बताईन् । उनले जति कागजमा लेखेपनि व्यवहारमा पुरुषसरह महिलालाई हकअधिकार र सहभागितामा बञ्चित गरेको बताईन् ।
कार्यक्रममा साधना महिला विद्यालयकी प्राचार्य विष्णु गौतम,सम्बद्ध बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकराज शर्मा, महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्णप्रसाद शर्मालगायतको सहभागिता रहेको थियो । त्यस्तैगरी जनजागरण महिला समूह,मिलीजुली आमा समूह, मनकामना आमा समूह, तल्लो देवीनगर आमा समूह, बुटवल तिलोत्तमा आमा समूह, बुटवल ख्रीष्टियन दिदी बहिनी संगतीलगायतले अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न गीत तथा कविताहरु र नृत्य समेत प्रस्तुत गरेका थिए ।
त्यस्तैगरी प्रतिभा प्रस्तुति गर्ने र सहभागि महिला रआमा समूहहरुलाई प्रमुख अतिथि गोमादेवी आचार्यमार्फत प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । ज्योति मण्डली परिषद्का अध्यक्ष पाष्टर मनोहर पाठकको समर्पण प्राथनामा, दिदी बहिनी संगति समिति सदस्य मनु थापाको स्वागतमा, धन्यवाद ज्ञापन महिमा ज्योति चर्चका अध्यक्ष कमलादेवी पाठकले गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन राधिका रानाले गरेकी थिईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)