गुल्मी,फागुन २२ ।
गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको हो ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको थियो।
७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ७८.६९ अंक डडेल्धुराको अजयमेरु गाउँपालिकाले पाएको छ । मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएर दोस्रो भएको छ ।
तेस्रोमा ७६.५४ अंकका साथ गुल्मीको धुर्कोट, चौँथो ७६.४९ अंकका साथ कैलालीको कैलारी गाउँपालिका र पाचौं ७६.३८ अंकका साथ भीमदत्त नगरपालिका (कञ्चनपुर) भएका छन् । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९.८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने संघीय संचित कोषको समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।
स्थानीय जनता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सबैको सहयोगबाट गाउँपालिका यो स्थानमा पुगेको भन्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘निर्वाचनका बेला गरेका प्रतिवद्धता, संविधान र ऐनले दिएका अधिकार कार्यान्वयन गर्ने क्रममा आवस्यक विधी प्रकृया अनुसार नीति कार्यक्रम र बजेट कार्यान्वयन गर्दै जाँदा यो स्थानमा पुगेका छौँ’, उनले नागरिक अनलाइसग भने, ‘यो उपलब्धिका लागि अर्थपूर्ण सहभागिता सहित सहयोग, आलोचना ,खबरदारी गर्ने सबैलाई विशेष धन्यवाद दिन्छु। ’ उनले अझ प्रभावकारी काम गर्ने क्रममा आफूहरु लागेको पनि बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)