बुटवल,फागुन २ ।
नेपाली कांग्रेस रुपन्देहीले बैसाख ३१ मा हुने निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ । पार्टी कार्यालय भैरहवामा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले रुपन्देहीका सबै वडामा पार्टीको कार्यालय स्थापना गर्ने तथा टोल समिति गठन गर्ने निर्णय गरेको छ ।
फागुन मसान्तभित्र जिल्लाका १ सय ५५ वटै वडामा पार्टीका वडा कार्यालय स्थापना गर्ने र सबै टोलमा पार्टीको टोल समिति गठन गर्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नागरिक अनलाइनलाई जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको आतिथ्यतामा रहेको थियाे ।
त्यस्तै पार्टीका गतिविधि अनुगमन गर्नका लागि उपसभापति अनिता शाहको संयोजकत्वमा अध्ययन समिति समेत गठन भएको छ । उक्त समितिमा प्राध्यापक, शिक्षक, वकिल तथा पत्रकारसमेत रहने छन् ।
उक्त समितिले स्थानीय तहका लागि आकांक्षी र लोकप्रिय उम्मेदवारहरूको बारेमा समेत अध्ययन गर्ने कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए ।
पार्टीले आगामी फागुन २२ मा सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृतिमा रुपन्देही क्षेत्र नम्बर १ को सुरजपुरामा स्मृतिसभा एवं सहिद परिवार सम्मान कार्यक्रम गर्ने भएको जिल्ला सदस्य कमला पाण्डेले बताइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)