बुटवल,फागुन २ ।
रुपन्देहीको देवदहस्थित केरवानी माध्यमिक बिद्यालयका शिक्षकले अभिभावकमाथि हातपात गरेका छन् । आइतबार साँझ पत्रकार सम्मेलन गर्दै विद्यालयका अभिभावक विरेन्द्र पाण्डेले विद्यालयका शिक्षक यज्ञ प्रसाद न्यौपानेले आफुमाथि विद्यालय प्राङ्गणमै हातपात गरेको बताए ।
साे विद्यालयको व्यवस्थापन समितिको निर्वाचन यहि फाल्गुन ३ गते हुँदैछ।चुनावमा संयुक्त गठबन्धन र नेकपा एमालेले फरक-फरक प्यानल बनाएर निर्वाचनको मैदानमा छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अभिभावक पाण्डेले विद्यालय हाताभित्र केहि बिद्यार्थीहरुले चुनावी पर्चा वितरण गरेको देखेपछि बिद्यालयभित्र राजनीति हुन नहुने र विद्यार्थीलाई यस्तो कार्य गर्न नदिनका लागि अनुरोध गर्दा शिक्षक न्यौपानेले एक्कासी आफुमाथि हातपात गरेको उनले बताए ।
विद्यालयमा शिक्षकले राजनीति गर्ने र विद्यार्थीमाथि कुटपिटका घटना हुने गरेको आफुले सुन्दै आएको उल्लेख गर्दै पाण्डेले विद्यार्थी कुट्ने शिक्षक अभिभावक नै कुट्न अगाडि सर्ने कुरा सामान्य नभएको बताए ।
विद्यालय प्राङ्गणमै राजनीतिक कार्यकर्ताको स्तरमा ओर्लीएर अभिभावकलाई हातपात गर्ने शिक्षकले पेशागत मर्यादा कसरी कायम गर्न सक्छन् र उक्त विद्यालय कसरी आम विद्यार्थी र अभिभावकको रोजाईको विद्यालय बन्न सक्छ भन्दै पाण्डेले आफुलाई हातपात गर्ने शिक्षकलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
यद्यपि आरोपित शिक्षक न्यौपानेले भने आफुले हातपात नगरेको बताएका छन् । सामान्य विवाद भएको र उक्त विवादलाई अतिरन्जित गर्न खोजिएको उनको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)