Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

भाेलि श्रीपञ्चमी,विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरिने

भाेलि श्रीपञ्चमी,विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरिने

  • 6.3K
    SHARES

  • भाेलि श्रीपञ्चमी,विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरिने

    बुटवल,माघ २२ ।

    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी भाेलि मनाइदैछ ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

    एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ-आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो।

    संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

    आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

    श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

    विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् । बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

    सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।

    श्लाेक जानाैँ :

    सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
    हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१।।
    प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
    तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥२।।
    पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
    सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥३।।‌‍‌‌
    नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
    एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४।।
    द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
    जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५।।
    या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
    या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
    या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
    सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।

    नेपाली अनुवाद:

    जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत(सेतो) वर्णको हुनुहुन्छ र जो श्वेत(सेतो) वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुनूहुन्छ, उनै सम्पूर्ण जडतत्व र अज्ञानलाई दूर गर्ने माता सरस्वती हाम्रो रक्षा गर्नुहोला।

    शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं ।
    वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम् ।।
    हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां ।
    वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।

    नेपाली अनुवाद:

    शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरूबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान्‌ बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती)लाई म वन्दना(पुजा) गर्दछु ।saraswoti mata.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology