बुटवल,माघ २० ।
लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले प्रदेशमा पर्यटन वोर्ड गठनको तयारीमा रहेको बताएका छन् । वोर्ड गठनको प्रक्रिया शुरु भैसकेको बताउँदै मन्त्री चौधरीले केही दिनमै काम सकिने जानकारी दिए ।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले विहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरु ड्राफ्ट गर्ने काम भइरहेको बताए ।
मन्त्री चौधरीले लुम्बिनीको पर्यटन प्रवद्धनमा सरोकारवाला निकायसंग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवद्धनका नयाँ कार्यक्रम ल्याइने उल्लेख गरे ।
लुम्बिनी प्रदेश अन्तरगत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको ववई, प्युुठानको राप्ती, बाँकेको राप्ती सुनारी लगायतका क्षेत्रमा र्याफ्टिङ संचालनको लागि अध्ययन थालिएको पनि मन्त्री चौधरीले जानकारी दिए ।
त्यस्तै ठाउँ अनुसार सांस्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवद्धन गर्ने गरी अध्ययन थालिएको उनको भनाई छ ।
मन्त्री चौधरीले भने-‘ दाङ, बाँके र बर्दियामा थारु संस्कृतिका संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने, रोल्पा, रुकुममा मगर समुदायको, प्यूठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरु ल्याउन प्रदेश सरकारले अध्ययन थालेको छ ।’ मन्त्री चौधरीले हरेक जिल्लामा कम्तिमा दुई तीनवटा नयाँ पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्धनमा सहयोग गर्न पर्यटन पत्रकारहरुलाई आग्रह गरे।
कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीले प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयसंग सहकार्य गर्न चाहेको उल्लेख गरे । प्रदेशमा ठोस पर्यटन नीति आवश्यक रहेको भन्दै यसतर्फ सरकार गम्भीर हुन नसकेको उनको भनाई छ ।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका महासचिव कपिल ज्ञवाली,सचिवालय सदस्य स्वस्तिक श्रेष्ठ, तेजेन्द्र केसी,एनबी कंडेल लगायतले बोल्दै प्रदेश सरकारले पर्यटन नीति बनाउन ढिलाई गर्न नहुने उल्लेख गरे ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)