काठमाडौँ,माघ १८ ।
गृहमन्त्री बालकृष्ण खाँणले सरकार संविधान र कानुनको पालना गर्ने दायित्वबाटपछि नहट्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनले विभिन्न स्थानका सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानुन विपरीतका हर्कत गर्नेहरूमाथि कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
‘सरकारको दायितत्व संविधान र कानुनको पालना हो,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘कानुनविपरीतका काम गर्नेलाई कारबाही हुन्छ । हामी अनुसन्धान गरिरहेका छौँ ।’उहाँले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने बताउनुभयो ।
युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लामा राष्ट्रसेवकमाथि भएका गैरन्यायिक घटनाहरूका दोषीलाई कानुन अनुरुपको कारबाहीको माग गरिएको छ ।
गैरन्यायिक कार्य गर्नेहरूविरुद्ध सरकारले शान्ति सुरक्षाको लागि आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न पनि युनियनले आग्रह गरेको छ ।
डिभिजन वन कार्यालय पहलमानपुर कैलाली अन्तर्गत सव विभिजन वन कार्यालय पचमुडियामा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितलगायतमाथि भएको अमानवीय व्यवहारको विरोध गर्दै युनियनले कानुनअनुरुप कारबाही गर्न माग गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)