बुुटवल,माघ १४ ।
बुटवल उपमहानगरपालिकाको वडा नं ७ को नयाँ ठाउँ र पुनर्निर्माण गरिएको भवनबाट सेवाप्रवाह सुरु भएको छ । दीपनगरमा पुनर्निर्माण र मर्मतसम्भार गरि वडाको नयाँ कार्यालय स्थापना भएको हो ।
वडा नं ७ को नयाँ कार्यालय भवनको शुक्रबार एक संक्षिप्त समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभएको छ । त्यसक्रममा उहाँले वडाबाट हुने सेवाप्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
टोल स्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बनेका र छलफलबाटै नगरको सहरी विकास गुरुयोजना तय भएको उल्लेख गर्दै प्रमुख सुवेदीले आवधिक योजनाहरु पूरा हुने र दीर्घकालीन योजनाहरुले तीब्रता पाउने काम भइरहेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष कमलप्रताप थापाले आफुहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरी, पूर्वउपमेयर रामप्रसाद खनाल, सिद्देश्वरी लालकुमारी माविका अध्यक्ष सागर न्यौपाने, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायणबहादुर घिमिरे तथा कार्यपालिका सदस्य सीता थापा आचार्यलगायतले बोल्दै वडाका सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
करीब ३२ लाख बराबरको लागतमा वडाको कार्यालय भवनको पुनर्निर्माण भएर सेवा सुचारु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिनुभयो । माथिल्लो ट्रससहित दुई तला र आठ वटा कोठा तथा पार्किङ सहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरि बनाइएको हो ।
बुटवल उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति भएको सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण अवस्थाका कर्मचारी आवासलाई हटाएर नयाँ आवास गृह निर्माण गरिएको छ ।
उक्त आवास गृहको आज एक समारोहबीच उपमहानगर प्रमुख शिवराज सुवेदीले सडक डिभिजन प्रमुख जयलाल मरासिनीलाई हस्तान्तरण गर्नुभएको छ ।
करिब ४८ लाख बराबरको लागतमा प्रति परिवार चारवटा कोठासहितको छ वटा आवासगृह र एउटा योगा हल निर्माण गरि हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा न ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको छ ।
बुटवलमा बन्यो कराँते डो एकेडेमीको कभर्डहल:

बुटवल उपमहानगरपालिकाले बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ ।
कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्नेगरी निर्माण गरिएको एकेडेमी भवनको बिहीबार एक संक्षिप्त समारोहबीच प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभएको छ ।
उक्त एकेडेमी भवनको उद्घाटन गर्दै प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट समृद्धि र खुशहाली समेत हासिल हुन सक्ने भएकाले उपमहानगरले खेलकुदको समग्र विकासलाई प्राथिमकतामा राखेर नीति कार्यक्रम र बजेटको प्रबन्ध गरिएको बताउनुभयो ।
उहाँले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उहाँले खेलकुदको पूर्वाधार विकासका साथै खेलाडीको उत्पादन, पहिचान, अवसर र प्रोत्साहनका लागि पनि उपमहानगरले विशेष रणनीतिका साथ कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
वडा नं १० का अध्यक्ष पदम थापाले खेलकुदको समग्र विकास र प्रबद्र्धनका लागि वडा स्तरबाट समेत कार्यक्रम भइरहेको उल्लेख गर्दै एकेडेमीको भरपूर सदुपयोग गरेर त्यसमार्फत खेलाडी उत्पादनमा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका कार्यक्रमका सञ्चालक कृष्णप्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास संगसंगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कराँते डो एकेडेमी कभर्डहल भवन उपमहानगर, वडा स्तरीय र उपभोक्तासमेतको ४६ लाख ३९ हजार बराबरको लगानीमा निर्माण भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरले खेलकुदका पूर्वाधार विकासका साथै विभिन्न वडामा गरि ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरेको छ । क्रिकेट, फुटवल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरुलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको खेलकुद विकास समितिका अध्यक्ष काउचाको भनाइ छ ।
कराँते सिक्न चाहनेका लागि अवसर कालिकानगरमा गत वर्ष नै एकेडेमी स्थापना भएको थियो । एकेडेमी स्थापना भएलगतै गत फागुन ४ गते उपमहानगरका प्रमुख सुवेदीले नै उपमहानगर मातहतको जग्गामा कराँते डे एकेडेमीको कभर्डहल शिलान्यास गर्नुभएको थियो ।
एक वर्षमै निर्माण सम्पन्न भएर अहिले उद्घाटन गरिएको छ । कालिका नगरमा स्थापना भएको एकेडेमीमा उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालीकाको २ र ३ नम्बर वडाका खेलाडीहरुले समेत प्रशिक्षणमा प्रत्यक्ष लाभ लिन सक्ने सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष एवम एकेडेमीका अध्यक्ष देबकोटाले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)