बुटवल,माघ १०।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्त चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदै छन्। सोमबार साँझ पाँच बजे नेता पुन काठमाडौं आइपुग्ने उनकी बहिनी लालकुमारी पुनले जानकारी दिइन्। नेता पुन चार्टर विमानमार्फत् स्वदेश आउन लागेका हुन्।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पुनकी पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल फर्किंदैछिन्। पुनले आफू पूर्ण पूर्णरुपमा निको भएर स्वदेश फर्किन लागेको भन्दै ट्वीट गरेका छन्।
जण्डिसको गम्भीर समस्या देखिएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुनको उपचार गरिएको छ। उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ।
सुरुमा वर्षमानको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ ठिक नभएपछि चिकित्सककको परामर्शमा गएको १३ असोजमा उनलाई थप उपचारको लागि थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा पुनलाई थप उपचारको लागि चीन लगिएको थियो।
वर्षमान पुन चीनबाट फर्किएपछि माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने चर्चा राजनीतिक वृत्तमा छ। पुनले पार्टीमा महासचिवको दावी गर्दै आएका छन्। पदाधिकारी छान्न माओवादी केन्द्रले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)