बुटवल, पुस २३ ।
मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा कपिलवस्तुमा हुने भएको छ । राष्ट्रिय परिषद् बैठक आगामी माघ २१ र २२ गते हुनेछ । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले नागरिक अनलाइनलाई जानकारी दिए ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल आह्वानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ ।
राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग मानिन्छ ।
शान्ति समाजको बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले चार जना केन्द्रीय सदस्यले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
उनीहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजीनामा स्वीकृत गरेको छ । दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिबद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताको कारण जनाई राजीनामा दिएका हुन् ।
शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये घटेर अब २९ भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)