बुटवल,पुस २१ ।
ड्रिम हाइ नेपालले आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ ।
कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले नागरिक अनलाइनलाइ जानकारी दिएका छन् ।
“नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, जिसीले भने । नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दीर्घ साधना सम्मान बाट सम्मान गरिने जिसीले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ ।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ ।
यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा कार्यक्रम हुदैँ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)