बुटवल,पुस १३ ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ । १६ गतेसम्म सक्न कोशिस गर्ने नभए १७ गतेसम्म लम्ब्याउने विषयमा छलफल भएको छ मंगलबार स्थायी कमिटीको बैठकपछि नेता श्रेष्ठले भने ।
माओवादीको महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । संविधान र पार्टीको विधान व्यवस्था अनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरिएको हो ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।
समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिने स्थायी कमिटीले निर्णय गरेको हो । समिति सदस्य श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)