बुटवल,पुस १३ ।
नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।
आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत हिजोको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।सोमबारको बन्दसत्रमा प्रस्तुत गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको सो प्रतिवेदन ४५ पृष्ठको छ।
प्रचण्डले प्रतिवेदनमा आफ्ना विगतका निर्णय तथा निर्णय प्रक्रियाको आत्मालोचना गरेका छन्। शान्ति पक्रियापछि पार्टीका कमजोरीलाई मुख्य चार बुँदामा व्याख्या गरेका छन्।
प्रतिवेदनमा उनले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रुपरेखा पनि प्रस्तुत गरेका छन्। जहाँ उनले ‘सोसल मिडिया’को प्रयोगदेखि देखि यौन जीवनसम्मका विषय समेटेका छन्। प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहका छलफल हुनेछ। मंगलबार समूहगत रुपमा गरिएको छलफलको निष्कर्ष बुधबारको बन्दसत्रमा प्रस्तुत गरिनेछ। सोही अनुसार प्रतिवेदनमा परिमार्जन गरिनेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)