बुटवल, पुस ६ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेसहारा र अभिभावकविहीनको अभिभावक एमाले भएको बताएका छन् । कपिलवस्तुको बहादुरगंजमा मंगलवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताए । उनले कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिटै शुरू हुने बताए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवाजस्तो शहरलाई ५० लाख रकम विनियोजन तथा सडक पूर्वाधारको लागि रकम विनियोजन गरेको बताए । एमालेका महासचिव शंकर पोखरेलले एमाले चुनावमा जान नडराउने बताए ।
यस्तै कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालगायत एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६ हजार भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले दाबी गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)