बुटवल,पुस ३।
नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले महाधिवेशनमा आफूहरूले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे । उपसभापति गुरुङले न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रूपान्तरित र न्यायोचित ढङ्गले अघि बढाउने बताए ।
उपसभापति गुरुङले भने,-‘पार्टी भित्र विधि र पद्धति स्थापित गर्नेहरूले फेरि भागबण्डा खोज्न थाल्यो भने पार्टी थिलथिलो हुन्छ । हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौँ भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ ।
अब हामी सबै काँग्रेसको सभापति, उपसभापति हो । त्यसको लागि काम थाल्नुपर्छ, न्यायोचित व्यवस्थापन गर्ने हो । भागबण्डा गरेर न्यायोचित व्यवस्थापन हुँदैन । रूपान्तरित गरेर लैजाने सन्दर्भमा हामीले पार्टीभित्र न्यायोचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’ उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताए । उनले यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताए ।
उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ सुरु भएको पनि बताए। उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ सुरु भएको बताएका हुन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)