बुटवल, मंसिर २९ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका बुधबार बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो ।
लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको पहिलो बालमैत्री नगरपालिका भइसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ एवं स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्दिष्ट गरेको ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि र ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान छ । यस्तै ६ वटा सूचकमा ८० प्रतिशत र एउटा सूचकमा ९० प्रतिशत नतिजा प्राप्त गरेमा बालमैत्री नगर घोषणा गर्न सकिन्छ ।
बुधबार नगरपालिका कार्यालय परिसरमा वृहत समरोहबीच पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, पूर्वमन्त्री घनश्याम भुसाल, प्रदेश सरकारकी कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्ती, नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई बालमैत्री नगरपालिका घोषणा गरेका हुन् ।
कार्यक्रममा संघीय सांसद घनश्याम भुसाल , प्रदेश मन्त्री रमा घर्ती , रास्ट्रीय सभा सांसद गोपाल भट्टराई ,प्रदेश सांसद लिला गिरि ,भोज प्रसाद श्रेष्ठ तुल्सी चौधरी ,कृष्ण न्यौपाने ,रमा अर्याल , पुर्ब सासंद एमाले नेता दधिराम न्यौपाने , बुटवल उपमहानगर का मेयर शिवराज सुवेदी लगायत सहभागि थिए ।
घोषणासभामा नगर प्रमुख बासुदेव घिमिरेले दुई वर्षदेखिको तयारीपछि बालमैत्री नगर घोषणा गर्न सफल भएको बताए ।बालमैत्री नगरका विद्यालयमा दण्ड–सजायरहित शिक्षण, बालबालिकालाई आदरार्थी शब्दबाट सम्बोधन, बालश्रममुक्त लगायतका मापदण्ड रहेका छन् ।
नगर प्रमुख बासुदेब घिमिरेको अध्यक्षता , उप मेयर जागेश्वरी चौधरीको स्वागत ,प्रबक्ता सुरेन्द्र श्री को संचालन मा कार्यक्रम सम्पन्न भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)