बुटवल, मंसिर २५ ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपि ओलीले क्रान्तिकारी धार छाडेर राजाबादीसँगको साँठगाठ गर्न पुगेको आरोप लगाएका छन ।
उनले ओलीले कम्यूनिष्ट धारबाट स्खलित भएको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए । उनले नेकपा एमालेलाई ओलीले दक्षिणपन्थी बाटोमा लगेको आरोप लगाए ।
उनले एमालेले आफ्नो क्रान्तिकारी धार त्यागेकै कारण आफूहरुले अलग बाटो रोज्नुपरेको बताए ।‘चिवनमा भएको कुभ्भमेलामा देख्नुभएन, आफैले आफैलाई अध्यक्ष बनाएको’ नेपालले ब्यङग्य गर्दै भने –‘ओलीमा भएको म नै सर्वेसर्वा, म नै राज्य भन्ने प्रवृत्तिले यो अवस्था आएको हो ।’
अध्यक्ष नेपालले ओलीले माक्र्सबादी विचारधाराको पार्टीलाई भुत्ते बनाएर राजाबादीसँग साठगाठ र विदेशी शक्तिसँग लम्पसार परेको बताए । ‘कमल थापासँग ओली जीको साँठगाठ बढेको छ, मध्यरातमा खुवियाहरुसँग भेटघाट गरेको थाहै छ’ नेपालले भने –‘केपि ओलीमा स्खलन भयो, एमाले कम्यूनिष्ट धारमा छैन ।’ उनले पानी जहाजको गफ हाँकेर टावरमा अर्बो रकम हालेर समाजवाद नआउने भन्दै आलीलाई कटाक्ष गरे ।
उनले अहिलेको मुख्य प्रधान विरोध दलाल नोकरशाही पूँजीवाद नै भएको बताए । उनले नोकरशाही दलाल पूँजीवादलाई राजनीतिक संरक्षण भएकाले त्यस्तो प्रवृत्तिको विरोधमा आफ्नो पार्टी रहेको बताए । उनले आफूहरु कार्यकर्तामाझ भिजेको पार्टी बनाउने अभियानमा सामेल भएको बताए ।
उनले समाजवादी पार्टी चुनावदेखि चुनावसम्मको पार्टी नभएको बताए । ‘चुनावदेखि चुनावसम्म होईन, हामीले जनतादेखि जनतासम्म भनेका छौं’ अध्यक्ष नेपालले भने –‘त्यसैले हामीले जनताको मूल्यांक, निगरानीमा बस्ने पार्टी बनाउँदैछौं’ उनले भने । उनले समाजवादी पार्टीलाई असल कार्यकर्ताहरुको पार्टी बनाउने बताए । उनले त्यसका लागि कार्यकर्ताहरुले माक्सवाद, प्रगतीशिल साहित्यहरु अध्ययन गर्नुपर्ने बताए ।
त्यत्रो खर्च गरेर, पार्टी कार्यालय बनायौं भनेर कतिपय साथीहरु भन्नुहुन्छ, साँच्चि भन्ने हो भने केपि ओलीले बनाएका होईनन्’ नेपालले भने –‘घर हेर्दै रुदै बस्नुभन्दा त्यहाँबाट बाहिरिएका छौं, अब फेरी घर बनाउनेछौं, कार्यालय बनाउनेछौं ।’
उनले कार्यकर्तालाई मिठो बोलेर पार्टी संगठन निर्माणमा जुट्न समेत अपिल गरे । नेता नेपालले अब अब निर्वाचन प्रणालीमा परिवर्तन गुर्नपर्ने बताए । खर्चिलो र महगो बनेको निर्वाचन प्रणालीमा भोज र पैसामा भोट बेच्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए । ‘धनीले मात्रै चुनाव लड्ने स्थिती आएको छ, अब यसमा सुधार गर्नुपर्छ’ नेपाललले भने ।
एमाले विभाजनपछि पहिलो पटक शक्ति प्रदर्शन सहित नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला स्तरीय कार्यकर्ता भेला एंव प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले आफूहरुले विचारको पार्टी निर्माण गर्ने बताए । उनले ओलीले कम्यूनिष्ट विचारबाट च्यूत गरेका कार्यकर्तामा नयाँ उर्जा थप्ने बताए । उनले सामाजिक कुरिती विसंगती विरुद्ध पार्टीलाई उभ्याउने बताए ।
उनले कार्यकर्ताहरुलाई किताब अध्ययन गर्न आग्रह गरे । कार्यक्रममा समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव अविराम विश्वकर्मा लगायतले बोल्दै रुपन्देहीको भेलाले उत्साह थपेको बताउँदै ठूलो पार्टी बनाउने बताए । उक्त विभिन्न पार्टी परित्याग गरि २ सय बढि समाजवादीमा प्रवेश गरेका छन ।

नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री नेपाललले एक समारोहका विच पार्टी कार्यालय उद्घाटन गरेका हुन ।
बुटवल ८ सुख्खानगरमा प्रदेश र जिल्ला कमिटिको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचनहरु नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न समेत आग्रह गरे ।
उनले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए । उद्घाटन समारोहमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराई लगायतका नेताहरुको उपस्थिती थियो ।
कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए । कार्यक्रमको सञ्चालन उपसचिव सरिता श्रीसले सञ्चालन गरेका थिए ।
राजनीति गर्ने मन भए राप्रपाको अध्यक्ष भएर आउन पूर्व राजा ज्ञानेन्द्रलाइ चुनाैती :
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने मन भए राप्रपाको अध्यक्ष भएर वा अरु कुनै पार्टी खोलेर आउन चुनौती दिएका छन ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार विहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो कुरा बताएका हुन । उनले इतिहास अगाडि गइसकेको बताउँदै अब राजतन्त्रको भूत जगाउने सपना नदेख्न आग्रह गरे । इतिहास निकै अगाडि पुगिसक्यो, राजतन्त्रको भूत नलिए हुन्छ, म राजेन्द्र लिङदेनलाई भन्छु, देश अगाडि बढिसक्यो, कसैको साराहा लिन नखोज्नुस्’ नेपालले भने –‘राजनीति गर्ने मनै भए ज्ञानेन्द्र राप्रपाको अध्यक्ष भए हुन्छ ।’ उनले जनता पूरानो इतिहास दोह¥याएको पक्षमा नभएको बताए । दलहरुमा राजतन्त्रको किन त्रास भन्ने पत्रकारको जिज्ञासामा नेपालले भने –‘आफ्नै आँखाले देखेपछि र सुनेपछि विरोध त गर्नेप¥यो, होईन ।’ नेपालले प्रतिगमन सधैं खतराको शक्ति हुने भएकाले जनता सजग बनाउन राजतन्त्रको विरोध गरेको बताए । उनले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएकाले जनताले नै नपत्याउने कुरा नगर्न आग्रह गरे ।
नेपालले एमालेको महाधिवेशनपछि असन्तुष्ट १० भाई फर्केमा स्वागत गर्ने बताएका छन । उनले ओलीको प्राइभेट लिमिटेड कम्पनीबाट मुक्त भएर समाजवादीमा आउन आग्रह गरे । उनले चितवनमा भएको एमालेको महाधिवेशनपछि १० भाई भनेर चर्चामा आएकाहरुलाई त्यहाँ बस्न नसके एकिकृत समाजवादीमा स्वागत गर्न कुनै अप्ठ्यारो नहुने बताए ।
–‘विहान हराएको परिवारका सदस्यलाई साँझ घर नआउदैमा हराएको भन्न त भएन नी ’ उनले भने ।
नेपाललले ती नेताहरुसँग छलफल कुराकानी भएकोबारे भने केहि बताएनन । तर, उनले एमालेको चितवनमा भएको महाधिवेशनले विद्रोह गर्नुको औचित्य पुष्टि गरेको बताए । चितवनमा भएको महाधिवेशनलाई कुम्भमेलको संज्ञा दिदैं संविधान, लोकतन्त्रको रक्षाका लागि आफैले बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको उनले बताए । उनले केपि ओलीलाई सुधार्न सकेको भए यो स्थिती नै नआउने बताए । ओलीको प्रवृत्ति र बानी सुधार्न नसक्ने बताउँदै भने –‘उहाँ (ओली) को चरित्र बुझ्न केहि समय लाग्नसक्छ ।’ उनले बानी सुधार्न कठिन हुने दृष्टान्तका रुपमा हिटलरलाई उभ्याए । ‘सुध्रने भए त हिटर सुन्ध्रन्थेँ नी,हिटललाई श्रीमतले समेत सुधार्न सक्नुभएन’ ओलीको बानीसँग तुलना गर्र्दै नेपालले भने –‘ओलीलाई सुधार्न नसक्ने भएकै कारण यो अवस्था सृजना भएको हो ।’
नयाँ पार्टी गठन गर्नुभन्दा एमालेमै बसेर संर्घष किन नगरेको भन्ने पत्रकारको प्रश्नमा नेपालले भने –‘झ्याल ढोका बन्द गर्न थालेपछि कहाँ जाने ? पुष्पलाल जीवत भए उहाँलाई सोध्नहुन्थ्यो, केशरजंगशाहसँग किन नबसेको भनेर ।’
उनले कोर्डिनेशन केन्द्रदेखि आफै संलग्न भएको पार्टी गलत नेतृत्वको कब्जामा पुगेपछि आफैले बनाएको पार्टीबाट विद्रोहमा उत्रनुपरेको बताए ।
राष्ट्रियसभामा गठबन्धन गर्ने सहमती
पूर्वप्रधानमन्त्री एंव पाँचदलीय गठबन्धनका एक हिस्सेसदार दलका अध्यक्ष नेपालले नजिकै आउदै गरेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनमा पाँचदलविच गठबन्धन हुने सहमती भइसकेको बताए ।
उनले २०७४ मा केपि ओलीले नै माओवादी र राप्रपासँग समेत गठबन्धन गरेकाले अहिले नाजायज नहुने बताए । पत्रकार सम्मेलन संगठन रुपन्देहीका संयोजक विनोद परियारको अध्यक्षता एंव सचिव पुनहरी बेल्बासेको सञ्चालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)