बुटवल,कात्तिक २५ ।
नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको राजमार्ग चौराहादेखी गोलपार्क सम्मको सडकखण्डको तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुख समक्ष बिहीबार ज्ञापन पत्र बुझाउँदै एमालेले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न आग्रह गरेको छ ।
एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा जिल्ला कमिटी उपसचिव, सचिवालय सदस्यलगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त टोलीले सडक विभागको डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको एमाले बुटवल उपमहानगरका सचिव मेघराज भट्टराईले जानकारी दिए ।
गोलपार्क देखी बेलहिया नाका सम्मको यस व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धनमा समेत ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ ।
‘यहाँको पर्यावरण, यहाँको हरियाली र वातावरणमा समेत क्षति पुगेको छ । यो बाटो भएर हड्ने लाखौं यात्रीहरु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको भन्दै मानव स्वास्थ्यमाथि खेलवाड भएको छ ।’
‘बुटवलको मध्यभागमा रहेको यो सडक खण्डको धुवाँधुलो र खाल्डाखुल्डीले हामीलाई गिज्याईरहेको छ । बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिडाँउने अवस्था नै छैन । दैनिक दुर्घटनाहरु निम्त्याएको छ र मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरिएको छ । यो एक प्रकारको अपराध हो भन्ने हाम्रो पार्टीको बुझाई रहेको छ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)