Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक बहिष्करण हुने डरले कुष्ठरोग प्रभावित पटक्कै खुल्दैनन् !

सामाजिक बहिष्करण हुने डरले कुष्ठरोग प्रभावित पटक्कै खुल्दैनन् !

  • 1.2K
    SHARES

  • सामाजिक बहिष्करण हुने डरले कुष्ठरोग प्रभावित पटक्कै खुल्दैनन् !

    बुटवल,कात्तिक १८ ।

    कुष्ठरोग विरुद्धको दिवस मनाइरहँदा सरकारले रोग निवारणमा लिएको लक्ष्य भने पूरा भएको छैन। २०६६ माघ १० गते कुष्ठरोगीको संख्या प्रति दश हजारमा १ जनाभन्दा तल झार्ने गरी निवारणको घोषणा गरिएपनि अवस्था उस्तै छ । उनीहरुको जीवनयापनमा असहजता छ भने उनीहरु पटक्कै खुल्दैनन् ।

    सरकारी लक्ष्यअनुसार सन् २०२० को अन्तसम्ममा प्रति दश हजारमा कुष्ठरोगीको संख्या एक जनामा झर्नु पर्ने हो। तर, रुपन्देहीमा भने त्यो रणनीति सफल भएन ।

    रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १.१९ पुगेको छ।  जिल्लामा सरकारी लक्ष्यभन्दा ० दशमलब १९ प्रतिशतले रोगीको संख्या बढी छ। जिल्लामा अहिले १४१ जना कुष्ठरोगी विभिन्न अस्पतालमा उपचाररत छन्। चालु आवको पुस मसान्तसम्म ४६ कुष्ठरोगी थपिएका छन्। थपिएका विरामीमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाको भएको स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले बताए।

    ‘हामीले लक्ष्य पूरा गर्ने र रोगलाई निरुपण गर्ने गरी अभियान चलायौं तर विरामी नखुल्दा लक्ष्य भने पूरा हुन सकेन’ उनले भने। तथ्यांकअनुसार चालु आवमा बुटवलमा १०, तिलोत्तमा ५, देवदहमा ६, रोहिणीमा ५, सिद्धार्थनगरमा ४, मायादेवीमा २, कंचनमा ३, ओमसतियामा २, सम्मरीमाईमा २, लुम्बिनी सांस्कृतिकमा २, सियारी र कोटहीमाई गाउँपालिकामा १-१ जना कुष्ठरोगका विरामी फेला परेका छन्।

    सरकारले सवै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ भन्दा तल झार्ने लक्ष्य लिए पनि तराईका जिल्लाहरुमा विरामी भने बढीरहेका छन्। सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आए पनि विरामीहरु रोगबारे खुल्न नचाहेका कारण निवारणमा समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    ‘हामीले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं।गाउँगाउँमा अभियान लगिएको छ।  विरामीहरु खुल्न नचाहँदा पहिचान गरी उपचार गर्न समस्या परेको छ’,स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले भने।

    स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक बेदभावलाई शून्य बनाउन नसक्दा पनि उनीहरु रोगबारे खुल्ने गरेका छैनन्।

    ‘कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने काम हामीले गरेका छौं’, डा। गिरीले भने, ‘रोगको शंकास्पद विरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्दछौं।’

    उनले कुष्ठरोगकोबारे सामाजिक भ्रम हटाई सत्य तथ्य जानकारी दिन सबैलाई आग्रह समेत गरे।

    कृष्ठरोग लागेमा शरीरको कुनै भागमा छुँदा थाहा नहुने र फुस्रो वा हल्का रातो दागहरु देखा पर्ने सुरुको चिन्ह हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो वा बाक्लो हुनु तथा आँखी भौं झरेर जानु कुष्ठरोगका चिन्हहरु हुन्। समयमै यसबारे पहिचान नगरे पछि गएर हात खुट्टाका औंलाहरु कमजोर हुँदै गई खुम्चने र अन्तमा अंगभंग हुनसक्ने सम्भावना हुन्छ।

    सरकारकाले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको भए पनि रोगबारे थाहा पाए पारिवारिक तथा सामाजिक बहिष्करण हुने डरले धेरै विरामी खुल्न चाहँदैनन्। यसले विरामीको पहिचान गरी उपचार गर्न समस्या पर्दै आएको छ। भने उनीहरुले जीवन बिताउन माग्दै हिड्नुसमेत परेको छ तर उनीहरुलाइ समाजका अन्य मानीसहरुको ब्यवहारले तनाव थपेको छ ।

    कुष्ठ रोग कसरी हुन्छ ?

    आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्रे नामक शुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग नै कुष्ठरोग हो । यो रोग लागेमा यसले छाला तथा स्नायूलाई असर पार्ने गर्छ ।

    यो रोग लागेमा छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ । त्यसैगरी अनुहारको छाला बाक्दलो हुने, गिर्खाहरु देखा पर्ने, स्नायूमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नपाउने हुन्छ । साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले मांशपेशीहरु कमजोर हुने गर्छ ।

    यो रोग लागेमा कुष्ठरोगलाई चिन्ह र लक्षणको आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ । कम किटाणु भएमा पौसी व्यासिलेरीलमई छ महिनासम्म र बढी किटाणु भएमा मल्टिव्यासिलरिलाई १२ महिनासम्म नियमित औषधी खुवाएर पनि औषधी गर्न सकिन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology