बुटवल,कात्तिक १४ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरेकी छन् ।
विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतम बुद्धको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’
उनले विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको उल्लेख गरिन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा खुसी लागेको बताए ।
परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । उनकाअनुसार महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको छ ।
उनले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताए । ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३७२ वर्ष भयो,’ उनले भने, ‘३७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले वास्तुकलालाई पनि ध्यान दिएका छौं ।’
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए । कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)