बुटवल,कार्तिक १० ।
नेकपा एमाले बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् । नगर कमिटीको उपाध्यक्षमा शोभाखर पोखरेल चुनिएका छन् ।
अन्य पदहरुमा भने दुइदेखि सहमतिको प्रयास भएपनि अझै टुंगाेमा पुग्न सकेको छैन । रुपन्देही जिल्ला एमाले उपमहासचिव बिष्णु पाैडेल र घनश्याम भुसालको क्षेत्र भएकाले पनि सहजै सहमति हुन नसकेको हाे ।
‘रुपन्देहीमा एमालेका धेरै नेताहरुको चासाे भएकाले उनीहरुले आफू अनुकुलको कमिटी बनाउन चाहे,यसैले सहमति हुन सकिरहेको छैन’- एक एमाले नेताले भने ।
नेताहरुले बाहिर बाहिर सहमतिको चर्का नारा लगाएपनि भित्र भित्रै आफ्ना मान्छेलाई नेतृत्वमा पुर्याउन वा सेट गर्नका लागि भित्रभित्रै लविङ गरेकाले सहमति जुट्न नसकेको हाे ।
बुटवल उपमहानगरमा सचिव र २ वटा उपसचिव पदमा सहमति जुट्न नसकेको एमालेका रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले बताए ।
नगर अध्यक्षमा ४-५ जनाको नाम चर्चामा भएपनि अन्त्यमा भने ज्ञवालीको पक्षमा मंगलबार नै सहमति जुटेको हाे । 
एमालेको १० औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा लुम्बिनी प्रदेशका १०९ मध्ये ९८ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । तीमध्ये ९६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
प्रदेशका अन्य ११ पालिकामा भने निर्वाचन लागि प्रकृया सुरु भए पनि नेतृत्व चयन लागि सकस देखिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)