बुटवल,कार्तिक ३ ।
पश्चिम नेपालको पहाडी जिल्लामा प्रचलित सराँय नाँच बुटवलमा देखाइएको छ । दशैंको कोजाग्रत पूर्णिमाका दिन लुम्बिनीका अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल देविनगरमा नाँचिएको हो ।
पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उद्धेश्यले बुटवलमा विगत सात बर्षदेखि सराय नाँच देखाउन थालिएको हो । तर गत बर्ष भने कोरोनाका कारण देखाइएको थिएन ।
देविनगरको नवदुर्गा मन्दिर प्राङगणमा भाला, खुकुरी र बाजागाजासहित सरायँ नाँच देखाइएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले नागरिक अनलाइनलाई जानकारी दिए ।
परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको उनको भनाई छ । गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन छ ।
पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ । सरायँ हेर्नका लागि मानिसहरुको बाक्लो भिड लागेको थियो तर केहिबेर पानीले बिथोलिदिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)