Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीबाट गृहमन्त्रीको निर्देशन :‘पहिलो प्राथमिकता सुरक्षा,अनाहकमा कसैको पनि ज्यान जानुहुन्न ’

रुपन्देहीबाट गृहमन्त्रीको निर्देशन :‘पहिलो प्राथमिकता सुरक्षा,अनाहकमा कसैको पनि ज्यान जानुहुन्न ’

  • 4.2K
    SHARES

  • रुपन्देहीबाट गृहमन्त्रीको निर्देशन :‘पहिलो प्राथमिकता सुरक्षा,अनाहकमा कसैको पनि ज्यान जानुहुन्न ’

    बुटवल,कार्तिक १ ।

    गृहमन्त्री बालकृष्ण खांणले आम नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  उनले सरकारको सबैभन्दा पहिलो प्राथमिकता आम नागरिकको जीवन रक्षा गर्नु रहेको बताए ।

    नेपाली  कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको  स्वागत, सम्मान, बधाई तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खांणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताए । उनले भने, -‘ सुरक्षा निकायका अधिकारी तथा प्रमुखलाई मेरो आग्रह र निर्देशन छ, सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस् एउटा पनि नेपाली नागरिकले अनाहकमा ज्यानु गुमाउन नपरोस् । ’

    देशका लागि कांग्रेसको खाँचाे छ :

    उनले ठूलो दललाइ सरकार चलाउनुस् भनेर दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको बताए । उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन्, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।

    ’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि सभापति अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रै कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडी बढेको बताए ।

    रुपन्देहीको विकासले देशको विकासका लागि आधारशिला तयार गर्छ :

    मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका नेता खांणले रुपन्देहीको समृद्धिका लागि प्रयत्नशिल रहिरहने बताए । उनले यो जिल्लाको विकास रुपन्देही र रुपन्देहीका नागरिकका लागि मात्र नभई यहाँको विकासले देशको विकासका लागि आधारशिला तयार गर्ने बताए । उनले जिल्लाको विकासका लागि सार्थक प्रयत्न गर्न अग्रज नेताहरुप्रति आभार प्रकट गरे ।‘ रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने सोच तत्कालिन पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व। गिरिजा प्रसाद कोइरालाले राख्नुभएको थियो, त्यस्तै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री स्व। सुशिल कोइरालाले २०७१ माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलायन्स गर्नुभएको थियो,’ उनले भने ।

    बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको मन्त्री खांणले बताए । उनले भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानको लागि अल्पकालिन र दीर्घकालिन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडी बढेको बताए । 

    १४ औं महाधिवेशन सफल पार्नुपर्छ :

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खांणले पार्टीको १४ औं महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिवेशनमा अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको बताए ।

    अहिले नेपाली कांग्रेसको काधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भिर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अहिलेको विषम परिस्थितिमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशिल सदस्यको संख्यामा १० लाखको हाराहारीमा पुगेको नेता खांणले बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दीन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीले कांग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडी बढ्नुपर्ने बताए ।

    कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एमालेका नेताद्वय धु्रव प्रसाद नेपाल र दर्शन नेपाल कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खांण र रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले कांग्रेसमा प्रवेश गराएका थिए । 

    गृहमन्त्री खाँण रुपन्देहीमा,भैरहवा गाैतमबुद्ध बिमानस्थलमा नेता-कार्यकर्ताले गरे भब्य स्वागत

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology