बुटवल,असाेज २३ ।
एमाले उपमहासचिव विष्णु प्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आराेप लगाएका छन् ।औद्योगिक करिडोर निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अतिक्रमण रोक्न सरकारसँग आग्रह गरे ।
रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधराणसभा तथा २२ औं अधिवेशनका अवसरमा बोल्दै उनले उद्योग कलकारखाना विकास गरी आर्थिक समृद्धि हासिल गर्न मोतिपुर औद्योगिक करिडोरको कामलाई अघि बढाउन जोड दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले निजी क्षेत्रको मनोबल नटुटाउन सरकारसँग आग्रह गरे । आफू अर्थमन्त्री हुँदा ल्याइएको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यस समयमा ल्याइएको नीतिलाई वर्तमान सरकारले मौन बसेको आरोप लगाए ।
वर्तमान सरकारले आफूले ल्याएको नीतिलाई बिरोध गर्न पनि नसक्ने र कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उल्लेख गरे ।
पौडेलले बुटवलको ज्योतिनगर पहिरोलाई दिर्घकालिन समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगायतका विकास निर्माणका कामलाई तिब्रताका साथ अघि बढाउन आग्रह समेत गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)