बुटवल,असोज १८ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वका विकसित राष्ट्रहरुले चन्द्रमामा बस्ति बसाउने योजना गरिरहँदा नेपालका ग्रामीण बस्तीहरुमा पहिचानका लागि लडाई लड्नु दुखद भएको बताउनु भएको छ ।
बर्दियाको राजापुरमा आयोजित तेस्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई आइतवार सम्वोधन गर्दै उहाँले सोनाहा जातीको पहिचानका सन्र्दभमा सर्वोच्च अदालतले २०७२ मंसिर १६ गते छुट्टै जाती भनेर परमादेश दिइसकेको अवस्थामा सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताउनुभयो ।
सोनाहाको सूचिकरण हुन्छ, हुन्छ, हुन्छ उहाँले जोड दिदै भन्नुभयो, सम्विधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोनाहा जातीको सूचिकरण हुने कुरामा विश्वस्त हुन सम्पूर्ण सोनाहालाई आग्रह गर्नुभयो ।
सोनाह जातिले सुचिकरणका लागि दिएको ज्ञापन पत्र बुझ्दै उहाँले भन्नुभयो, म आफै पुगेर प्रधानमन्त्रीलाई अनुरोध गर्नेछु ।
पञ्चायती तन्त्रको मानसिकता अझै अवशेषकारुपमा रहेकाले कर्मचारीहरुले तोडमोड गर्न सक्नेमा शंका रहेको भन्दै प्रदेश प्रमुख शेरचनले पहिचानको लडाइ लडेर अदालतवाट परमादेश पाइसकेको अवस्थामा अव कसैले सूचीकरण रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।
ठूलावडाले घरमा पालेको कुकुरले सदै मासुखान पाउने भन्दै प्रमुख शेरचनले सानाहरुले मिठो मसिनो खान चाड पर्व कुर्नुपर्छ वर्गिय लडाइँको अन्त्य नहुन्जेल यस्तो समस्या देखा परिरहने बताउनुभयो । उहाँले आफ्ना, भाषा, सस्कृति, परम्परा जोगाएर पहिचान बचाइ राख्न पनि सोनाहा समुदायलाई आग्रह गर्नुभयो । संविधान सभाका सदस्य हरी श्रीपाइलीले अहिलेसम्मको विभेदको क्षतिपूर्ति स्वरुप राज्यका सबै तहमा सोनाहा समुदायको प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो ।
सम्मेलनमा लोपोन्मुख र अल्पसंख्यक सोनाहा जातीलाई जोगाउनका लागि राज्यले अनेक प्रयास गर्नु पर्ने माग प्राय सबै वक्ताहरुले गर्नु भएको थियो । जनगणना ०६८ अनुसार कैलाली, कञ्चनपुर र वर्दियामा गरेर सो समुदायको १२०५ जना मात्र रहेका छन् । लुम्विनी प्रदेशका प्रदेश सभा सदस्यद्धय तिलक शर्मा हिमाल र दिपेश थारुले विगतका शासकले सोनाहालाई थारु समुदाय नै हो भन्नाले सोनाहाको पहिचानमा समस्या भएकोले अव सोनाहाको पहिचानका लागि आफूहरु लड्ने बताउनुभयो ।
सो अवसरमा वोल्दै सुदूरपश्चिम प्रदेशका मुख्य न्याधिवक्ता कुलानन्द उपाध्यायले् सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सोनाहाका विषयमा सकरात्मक भएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रममा सोनाहाका सवाल समेटिने बताउनुभयो ।
उहाँले राज्यको अन्तिम लक्ष्य न्याय दिने हो त्यसैले सोनाहाको सूचिकरण हुनेमा ढुक्क रहन सो समुदायलाई आग्रह गर्नुभयो ।
नदीमा बालुवा छानेर सुन खोज्ने, माछा मार्ने, डुंगा चलाउने सो समुदायले सूचीकरण नहुँदा कठिनाइ भएको बताउदै आएको छ । नेपालको संविधान २०७२ को धारा १७ को मौलिक अधिकारमा परम्परागत पेशा अगाल्न पाउने सुनिश्चितता गरिएको छ ।
कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सोनाह जातीको पहिचान उत्थान र विकासका लागि राज्यले ध्यान दिनुपर्ने भन्दै परम्परागत पेशालाई जोगाउन आफू लागि पर्ने बताउनुभयो ।
सोही कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष खुसीराम चौधरी, वडा नम्बर ८ का अध्यक्ष चिन्तामणी आचार्य, घोडाघोडी नगरपालिका कैलालीका सदस्य राधा सोनाहा, भजनी नगरपालिकाका कार्यपालिका सदस्य कमला ज्ञवाली लगायतले सम्मेलनको सफलताको लागि शुभकामना दिनुभएको थियो ।
सोनाहा समाजका अध्यक्ष बलवहादुर सोनाहको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बर्दिया, कैलाली र कञ्चनपुरका सोनाहाहरु सहभागी थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)