बुटवल,असाेज १७ ।
आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।
यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न निर्देशन दिए।
त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो । छलफलमा आएका सुझावमाथि ओली लगायतका नेताहरूले जवाफ दिएका थिए ।यस्तै एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पु¥याइने जानकारी दिए ।
एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो ।
यस्तै पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय समितिमा दुई सय २५ जना सदस्य रहने व्यवस्था गरिएको छ । यस्तै, उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउनेछन् ।
तर, कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो । विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)