बुटवल,असोज १४ ।
बुटवलको पहिरो र बाढीजन्य प्रकोपको नियन्त्रण तथा जोखिम न्यूनीकरणका विषयमा प्रधानमन्त्री र गृहमन्त्रीलाइ ध्यानाकर्षण गराइएको छ ।
पूर्व अर्थमन्त्री नेकपा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल, उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसहितलाई प्रकोप नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बुटवलको संरक्षणका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताए ।
त्यसअवसरमा कार्यपालिका सदस्यहरु टंकप्रसाद पराजुली, नारायणप्रसाद पुन र महेन्द्रप्रसाद लिगल, उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, अनेरास्ववियु उपाध्यक्ष यम पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।
बुटवल उपमहानगरले ज्योतिनगरको पहिरो रोकथाम, विस्थापितलाई स्थायी बसोबासको प्रबन्ध, तिनाउ र दानव नदिले कटान गरेका बस्तीको सुरक्षार्थ तटबन्ध लगायतका कामको योजना बनाएको छ । तिनै योजनालाई साकार पार्न उपमहानगरले संघीय सरकारको सहयोग र सहकार्य खोजिरहेको छ ।
यस्ता बस्तीको सुरक्षाका लागि उपमहानगरपालिकाले तयार पारेको आवधिक र दीर्घकालीन योजनालाई प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खांड र मातहतका विभिन्न कार्यालयलाई हस्तान्तरण समेत गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)